आयुर्वेद उपचारको प्रभावकारी पुनर्जागरणमा कोशी प्रादेशिक आयुर्वेद अस्पताल

दमक, १२ भदौ  आधुनिक विकासको गतिले मानिसलाई निकै गतिशील बनाएको छ । अनि विज्ञानको चामत्कारिक फड्कोले विकासमा छलाङ मार्ने काम भएको छ । तर नवीनता खोज्ने लहरले मानिसका मौलिकतामाथि भनें उसैगरी संकट पनि निम्त्याइरहेको छ ।
प्राकृतिक सुन्दरतामा धनी मात्रै होइन बरदान सावित जडिबुटीमा पनि उस्तै धनी छ नेपाल । मानिस मात्र नभएर समग्र प्राणीको प्रभावकारी उपचारमा बरदान सावित हुने जडिबुटीको महत्वलाई यसबेला पुनर्उजागर गर्ने काम झापाको कमल गाउँपालिका वडानम्बर ७ मा रहेको प्रादेशिक आयुर्वेद अस्पतालले प्रभावकारी रुपमा अघि बढाएको छ ।

 

गौरादह ७ की शान्ता कार्कीले भारत सहितका धेरै ठाउँमा उपचार गराउँदा निको नभएपछि यहाँ आएर पायल्स निको हुने अवस्थामा पुगेकोले आयुर्वेदिक औषधीले राम्रो गरेको ठहर गर्नुहुन्छ । ‘पहिले त मान्छे कोही आउँदैन थिए । सरकारको पैसा सक्न गाउँमा यस्तो ठूलो के बनाएको होला भन्ने लागेको थियो । तर अहिले यस्ले सबैलाई राम्रो गरेको छ ।’– उहाँले भन्नुभयो ।

 

गौरादह ७ कै हेमन्तादेवी पौडेलले त देशका सवैलाई आयुर्वेदिक उपचार गर्न आव्हान नै समेत गर्नुभएको छ ।
उहाँहरुले भनेजस्तै यसबेला आयुर्वेदिक उपचारको प्रभाव बुझेर यहाँ उपचार गर्न आउनेहरु दिनप्रतिदिन बढ्दै गएका छन् । जटिल प्रकारका समस्या भएका विरामीले समेत आयुर्वेदिक उपचारसँगैको उपचारात्मक योगले नयाँ जीवन पाएका उदाहरण छन् ।

शौचालयमा लडेर पूर्ण बेहोस भई ब्रेन हेम्रेज भएर अप्रेशन गरेपछि पनि दमक ५ का ज्येष्ठ नागरिक टिकाराम गुरागाईं ओछ्यानबाट खासै उठ्न सक्नु भएको थिएन । त्यो अवस्थामा आयुर्वेद अस्पतालमा गएपछि अहिले राम्ररी बोल्न मात्र होइन हिँडडुल गर्न समेत सक्ने हुनु भएको छ । ‘पञ्चकर्म थेरापी र शिरोधार गरेर आयुर्वेद औषधी सेवन गर्दा निको नै भइसकेको छु ।’– उहाँले भन्नुभयो ।

 

 

पहिले सानो भवनबाट गाउँघर क्लिनिक चल्दै आएको सो स्थानमा स्थानीय दाताले २ विगाह १ धुर जग्गा निःशुल्क उपलब्ध गराएपछि आयुर्वेदिक उपचारको पुनर्जागरण गराउने योजना अघि बढ्न पायो ।

 

संघीय सरकारको बजेटमा सघन सहरी विकास तथा भवन निर्माण आयोजना भद्रपुरले २० करोड ६३ लाख रुपैयाँको लागतमा लिफ्ट सहितको तीनतले सुविधासम्पन्न भवन निर्माण गरिदिएपछि कोशी प्रदेश सरकारले हेर्नेगरी ०७९ भदौ १५ गतेबाट ५० शैयाको अस्पतालका रुपमा सेवा दिन प्रारम्भ गर्यो ।
अस्पताल सञ्चालनका लागि त्यो बेला प्रदेश सरकारले २ करोड ५६ लाख बजेट विनियोजन गर्यो । जसबाट आयुर्वेद, होमियोप्याथी, प्राकृतिक चिकित्सा एवं अन्य वैकल्पिक चिकित्सा सेवा एकीकृत तथा एकद्वारा प्रणालीबाट उपलब्ध गराउन थालियो । क्षारसुत्र विधि, पञ्चकर्म विधि र उपचारात्मक योग विधिलाई अवलम्बन गर्दै उपचारको प्रक्रिया अघि बढेको छ ।

 

छुट्टै बहिरङ्ग कक्षदेखि आयुर्वेदिक पद्धतिबाटै एक्स–रे, सघन उपचार कक्ष, एनआइसीयु जस्ता आवश्यक कक्षहरू समेत निर्माण गरिएको छ । प्रसूति सेवा कक्ष पनि निर्माण गरिएको छ । उपकरणसहितको व्यवस्थापन पूर्ण हुन अझै बाँकी छ । स्वास्थ्यकर्मी र कर्मचारीको दरबन्दी आधा नै अपुग छ । एकातिर आवश्यक दरबन्दी व्यवस्थापनको माग गर्दै जाने र अर्कातिर जडीबुटी उद्यान सहित आयुर्वेद अस्पताललाई प्रभावकारी बनाउने अभियानमा अस्पताल प्रशासन पक्ष लागिपरेको छ ।
अस्पतालका कविराज निरीक्षक टेकनाथ अर्यालले हाल प्राविधिक र कर्मचारी गरी २४ जना मात्रै भएको सुनाउँदै ४७ जना हुनुपर्ने माग गरिरहेको उल्लेख गर्नुभयो । उहाँले आन्तरिक व्यवस्थापनका कामहरु पनि पूर्ण हुन बाँकी रहेको सुनाउनु हुन्छ ।

 

आयुर्वेद उपचारको प्रभावकारिता झल्काउँदै जटिल प्रकारका रोगका विरामीलाई समेत निको पार्ने काममा सफलता हाँसिल हुँदै गएपछि उपचार गर्न आउनेहरुको संख्या पनि निकै बढेको छ । स्थापनाकालको आर्थिक वर्ष ०७९ ÷ ८० मा १६ हजार ६ सय १५ विरामीले उपचार सेवा लिएका थिए । आर्थिक वर्ष ०८० ÷ ८१ मा त्यो संख्या बढेर २५ हजार १ सय ९१ पुगेको छ ।

 

स्वास्थ्य बीमाको कार्यक्रम समेत लागू गर्ने योजना बनाइसकिएको छ । विरामीलाई बेड भर्ना गरेर उपचार गर्ने तारतम्य पनि मिलाइसकिएको छ । अर्कातर्फ, अस्पतालले त अझ रोग लागेर उपचार गर्नुभन्दा रोगै लाग्न नदिने उपायका लागि अर्गानिक खानपान सहितको जीवन जिउने पद्धती समेत सिकाइरहेको अस्पतालका निमित्त निर्देशक डा. सिद्धार्थ ठाकुरले उल्लेख गर्नुभयो । ‘पञ्चकर्म र क्षारसुत्र विधिलाई मुख्य अंगका रुपमा अघि बढाएर विशिष्टिकृत सेवा प्रदान गरिरहेका छौं । जीवनशैली व्यवस्थापन क्लिनिकबाट समेत सेवा प्रवाह गरिहेका छौं ।’– उहाँले भन्नुभयो ‘अहिले विरामीको चाप बढेको छ । गुणस्तरीय सेवामा मेहनत गर्दै सफलता समेत हाँसिल गर्न सकेका छौं ।’

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

पाथीभरामा साउन महिनामा ३ लाख १८ हजार भेटी संकलन

पाथीभरा,२ भदौ । प्रसिद्ध तीर्थस्थल पाथीभरामा साउन महिनामा ३ लाख १८ हजार ५ सय रुपैयाँ भेटी संकलन भएको छ। पाथीभरा क्षेत्र विकास समितिका अनुसार उक्त

जनकवि दुर्गालाल श्रेष्ठको अन्त्येष्टि

काठमाडौं,२ भदौ । जनकवि दुर्गालाल श्रेष्ठको अन्त्येष्टि गरिएको छ ।मंगलबार अन्त्येष्टिअघि श्रेष्ठको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि विजेश्वरीस्थित नेपाल भाषा मंका खलःको प्राङ्गणमा राखिएको थियो।

निष्पक्षतामा प्रश्न नउठ्ने गरी काम गर्छौं : सभापति थापा

काठमाडौं,२ भदौ ।नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशनलाई निष्पक्ष र विश्वसनीय रूपमा सम्पन्न गर्नुपर्ने बताउनु भएको छ। मंगलबार पार्टी कार्यालयमा आयोजित प्रशिक्षण कार्यक्रममा

हवाई सुरक्षा सुधार र पर्यटन विकासमा सरकारको प्राथमिकता

काठमाडौं,२ भदौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेल (गनेस)ले पर्यटन पूर्वाधार विकास तथा नेपालको हवाई सुरक्षा प्रणाली सुधारलाई सरकारले प्राथमिकतामा राखेर काम

राष्ट्रिय गौरवका पाँच सिँचाइ आयोजना पाँच वर्षभित्र सक्ने लक्ष्य

काठमाडौं ,२ भदौ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले मन्त्रालयअन्तर्गतका राष्ट्रिय गौरवका सिँचाइ आयोजनालाई निश्चित समयसीमाभित्र सम्पन्न गर्ने कार्ययोजना अघि सारेको छ। मंगलबार मन्त्रालयमा आयोजित पत्रकार

जनक परियारको नेतृतवमा ‘राष्ट्रिय जागरण अभियान’ को घोषणा

काठमाडौं ,२ भदौ। जनक परियारको संयोजकत्वमा सामाजिक न्याय, सुशासन र नागरिक अधिकारका लागि ‘राष्ट्रिय जागरण अभियान’ घोषणा भएको छ । मंगलबार राजधानीको संवाद डबलीमा कार्यक्रमको