दमक, भदौ १२ । ज्येष्ठ नागरिक सम्मान प्रतिष्ठान शाखा दमक १ ले स्थानीय ७५ वर्ष भन्दा माथी १०६ वर्ष सम्मका २५ जना ज्येष्ठ बुबालाई सम्मानित गरेको छ ।
आउँदै गरेको कुशे औँशी तथा बुबाको मुख हेर्ने दिनको अवसर पारेर उहाँहरुलाई सम्मान गरिएको जेष्ठ नागरिक सम्मान प्रतिष्ठान शाखा दमक १ का अध्यक्ष अम्मर बहादुर बस्नेतले जानकारी दिनु भयो ।
प्रतिष्ठानको छैटौ वार्षिक उत्सवको अवसर पारेर आयोजना गरिएको कार्यक्रममा बुबाहरुलाई ढाका टोपी, खादा र फूलको गुच्छाद्धारा सम्मान गरिएको बस्नेतले बताउनु भयो ।
यस्तै, प्रतिष्ठानको कोषमा सहयोग गर्ने वडाका दाता घनेन्द्र योङया र ओम थेवेलाई समेत सम्मान गरिएको छ । संस्थाको कोषमा योङयाले २५ हजार र थेवेले ५ हजार रुपैयाँ सहयोग गर्नु भएको थियो ।
साथै यही कार्यक्रमको अवसरमा संस्थामा आवद्ध रहेका तथा आसपासका आमा एवं चेलीहरुलाई तीजको अवसरमा दर समेत खुवाइएको छ ।
ज्येष्ठ बुबाहरुले समेत विभिन्न गीतमा नृत्य प्रस्तुत गर्नु भएको थियो भने महिलाहरुले त तीजको गीतमा अझै बढी नाँचेर रमाइलो गर्नुभयो ।