दमक, १४ भदौ / पछिल्लो समय तिजका नाममा भड्किला कार्यक्रम गर्दै यसलाई फेसनका रुपमा प्रयोग गर्न थालियो । अर्थात साँस्कृतिक पर्व भन्दा बढि यो देखासिखी हुन थाल्यो भन्दै तिजबारे टिकाटिप्पणी समेत हुने गरेका छन् ।
सार्वजनिक रुपमै बहसको विषय बनाइएको तिज मनाउने तरिका र अवस्थाका बारेमा उठेका टिकाटिप्पणीका सन्दर्भमा दमक नगरपालिकाकी उपप्रमुख रेगिना भट्टराई प्रसार्इंले भनें संघ संस्थामा आवद्ध भएर मनाइने तिज त्यस्तो भड्किलो नभएको तर्क राख्नुहुन्छ ।
दमक ६ मा रहेको सूर्यदर्शन बचत तथा ऋण सहकारी सस्था लि. ले आयोजनाा गरेको तिज विषेश कार्यक्रममा प्रमुख अतिथि भट्टराईले भन्नु भयो ‘समाजमा धेरै सामाजिक संघ संस्थाहरुमा दिदी बहिनीहरुपनि आवद्ध हुनुहुनन्छ । त्यो बेला एक आपसमा तिजको अवसरमा भेला हुनु, नाँच्नु, आफ्ना सुख दुःख साटासाट गर्नुलाई मात्रै चाँही भड्किलो मानिदैन ।’
सूर्यदर्शनको अगुवाईमा दमकमा रहेका विभिन्न सामाजिक संघ सस्थाहरुलाई एकै ठाउँमा राखी सामूहिक तिज कार्यक्रम गर्ने अभ्यासको थालनी गरेको थियो । तर यो पटक भने त्यसो हुन सम्भव देखिएन । सबैले आआफ्नै तरिकाले कार्यक्रम गर्ने भएपछि संस्थाले पनि आफ्ना महिला सदस्य लक्षित गरेर कार्यक्रमको आयोजना गर्यो । कार्यक्रममा बोल्दै सँस्थाका कर्जा विभाग प्रमुख इश्वर नेपालले यसखाले कार्यक्रमले सदस्य र संस्थाबीचको सम्बन्धमा थप प्रगाढपन ल्याउने विश्वास व्यक्त गर्नुभयो ।
संस्थाका अध्यक्ष टिकाराज सापकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थाका महिला सदस्यहरुको उल्लेख्य उपस्थिती रहेको थियो । उहाँहरुले तीजको गीतमा कम्मर मर्काउदै नाच्नु भएको थियो । यो खुसी र उत्सवलाई हौसला दिन नगरकी उप प्रमुख भट्टराईले पनि केही बेर समूहमा मिसिएर नाँच्नु भएको थियो । जसले त्यहाँको माहोल अझ तताएको थियो ।