दमक, भदौ २७ । चटक्क परेको टल्किएको यो फूट कोर्ट । एसी चलाइएको छ । आकर्षक कुर्सी टेवल र आरामदायी सोफाहरु पनि छन् । अनि यहाँ बसेर खानकुरा बेच्ने देशकै चर्चित रेष्टुरेण्टहरु छन् ।
देशमै नाम कहलिएका पेपे पिज्जा, क्रन्ची चिकेन, मम फ्रम द हिमालयस, अतिथी भेजिटेरियन रेष्टुरेण्ट । बाहिरबाट हेर्दा निकै सफा छन् । फ्रन्ट डेस्कमा बस्नेहरु पनि आ आफ्नो पोशाकमा सजिएर ग्र्र्र्राहकको सेवामा समर्पित छन् ।
तर बाहिरबाट हेर्दा यत्तिको व्यवस्थित देखिने रेष्टुरेण्टहरुले पनि यहाँ बेच्ने खानेकुराहरुमा मानव स्वास्थ्यलाई असर पार्नेगरिको सामग्री मिसावट गरेर बेच्ने गरेको पाइएको छ ।
बिहीबार दमक नगरपालिकाको खाद्य प्रयोगशाला सहितको टोलीले अनुगमन गर्दा यहाँ सञ्चालनमा रहेका सबै रेष्टुरेण्टहरुमा कैफियत भेटिएको छ ।
निरीक्षणपछि जानकारी दिँदै खाद्य निरीक्षक लक्ष्मी न्यौपाने भन्नु हुन्छ ‘खानेकुरालाई अखाद्य रंग लगाएर रङ्गीन बनाउने र मिसावट गरेर बेच्ने गरेको पाइयो । साथै यहाँ प्रयोग गरिएका तेलहरु पनि धेरै पटक प्रयोग गरिएको पाइयो । हामीले यी कुरा सुधार गर्न चेतावनी सहितको पत्र दिएका छौ ।’
अनुगमनमा दमक उद्योग वाणिज्य संघ, उपभोक्ता मञ्च, इलाका प्रहरी कार्यालय, इलाका प्रशासन कार्यालय, नगर प्रहरी सहितको टोली सहभागी थियो । उपभोक्ताको स्वच्छ खाना खान पाउने अधिकारलाई कुण्ठित गर्दै यसखाले मिसावटयूक्त खाद्य सामग्री यहाँका रेष्टुरेण्टमा भेटिएकोमा उपभोक्ता मञ्च दमकका अध्यक्ष डा. नवीन चापागाईले चिन्ता व्यक्त गर्नु भएको छ ।
आम उपभोक्ताको स्वास्थ्यको ख्याल गर्न भन्दै दमक नगरपालिकाले बेला बेलामा यस खाले अनुगमन गर्दै आएको छ । अनुगमनपछि सञ्चारकर्मीहरुलाई प्रतिकृया दिदै अनुगमन समिति संयोजक तथा नगरकी उप प्रमुख रेगिना भट्टराई प्रसाईंले भाटभटेनीको माथिल्लो तलामा सञ्चालनमा रहेका रेष्टुरेण्टहरुमा धेरैनै अखाद्य रङ्गहरु मिसाइएको, मानव स्वास्थ्यमा असर पार्नेगरिको केमिकलहरु समेत भेटिएकोले अहिले पहिलो पटकलाई चेतावनी दिइएको जानकारी दिनुभयो ।
दमक नगरपालिकाले नगरभित्र सञ्चालनमा रहेका रेष्टुरेण्टहरुमा खाद्य सामग्रीमा प्रयोग गरिने रंग र अन्य स्वादनै फेरिदिने केमिकललाई निस्तेज गर्ने अभियान चलाइएको छ । सानादेखि ठूला सबै खाले रेष्टुरेण्टहरुमा अनुगमन गरिरहने उपप्रमुख भट्टराईको भनाई छ ।
बिहीबारनै यो टोलीले दमकको मुख्य चोकमा सञ्चालनमा रहेका ठेलाहरुमा समेत अनुगमन गरेको थियो ।









