मुख्यमन्त्री कार्कीलाई तेस्रोपटक विश्वासको मत

विराटनगर, २ असोज ।  कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले तेस्रो पटक विश्वासको मत प्राप्त गर्नुभएको छ ।

 

 

बुधबारको प्रदेशसभामा ९३ सांसदमध्ये ८३ जना उपस्थित थिए । जसमध्ये ६६ जनाको मत प्राप्त गरेर मुख्यमन्त्री कार्कीले सरकार अघि बढाउने औपचारिक विश्वास पाउनु भएको हो । प्रदेशसभाको दुईतिहाई मत प्राप्त गर्नुभएका कार्कीको विपक्षमा १५ मत खसेको छ भने एमालेका बुद्धिकुमार राजभण्डारी, कांग्रेसका भीम पराजुली र सत्तापक्षमै बस्दै आउनुभएकी जसपा नेपालकी एकमात्र सांसद निर्मला लिम्बू भने मतदानमा अनुपस्थित रहनु भएको थियो ।

 

 

मुख्यमन्त्री कार्कीलाई एमालेका उपसभामुख सिर्जना दनुवारसहित ३८ र नेपाली कांग्रेसका २८ जनाले विश्वासको मत दिएका छन् यस्तै कार्कीको विपक्षमा नेकपा माओवादी केन्द्र र राप्रपाले मत दिएका छन् । एकीकृत समाजवादी भने मत विभाजन प्रक्रियामा सहभागी भएन ।

 

यसअघि कार्कीले गत वैशाख ३१ गते प्रदेशसभाबाट विश्वासको मत लिनु भएको थियो । नेकपा माओवादी केन्द्रका सांसदको समर्थनमा वैशाख २७ गते संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्री नियुक्त उहाँलाई त्यसबेला प्रदेशसभाका ५६ सांसदको समर्थन थियो ।

 

 

भदौ १४ गते नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि कार्कीले प्रदेशसभाबाट पुनः विश्वासको मत लिनु भएको थियो । माओवादी सरकारबाट बाहिरिएपछि कार्की सरकारमा नेपाली कांग्रेस सहभागी भएको छ ।

 

 

एमाले नेता कार्की पहिलो पटक २०७९ पुस २५ गते मुख्यमन्त्री बन्नु भएको थियो । त्यसबेला २०७९ पुस २९ गते विश्वासको मत लिनु भयो । संविधानको धारा १६८ को उपधारा (२) अनुसार बनेको त्यो सरकारको पक्षमा एमाले, माओवादी, राप्रपा र जसपाका ५९ सांसदले विश्वासको मत दिएका थिए ।

 

 

केन्द्रमा सत्ता समीकरण फेरबदल हुँदै कांग्रेस, माओवादी, नेकपा एसलगायतको समीकरण बनेपछि कार्की नेतृत्वको सरकार २०८० असार १४ गते ढलेको थियो । कार्कीले प्रदेशसभामा राखेको विश्वासको मत सम्बन्धि प्रस्तावमा ४६ मत मात्र परेपछि पदमुक्त बन्नुभयो ।

 

 

कार्की पुनः संविधानको धारा १६८ (३) अनुसार २०८० साल भदौ २२ गते दोस्रो पटक मुख्यमन्त्री बन्नुभयो । तर, विश्वासको मत पाउन नसक्ने देखिएपछि उहाँले २९ औं दिनमा पदबाट राजीनामा दिनुभएको थियो ।

 

 

कार्की पदमुक्त भएपछि संविधानको धारा १६८ (५) अनुसार २०८० असोज २७ गते केदार कार्कीको नेतृत्वमा सरकार बनेको थियो । केदार कार्की नेतृत्वको सरकारलाई विस्थापित गर्दै पुनः हिक्मतकुमार कार्की २०८१ वैशाख २७ गते मुख्यमन्त्री नियुक्त हुनुभयो ।

Share: