‘प्रत्यक्ष निर्वाचित राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचन प्रणाली आवश्यक’

काठमाडौँ, ५ असोज ।  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रत्यक्ष निर्वाचित राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचन प्रणालीको एजेण्डा माओवादीले अब अघि बढाउने बताउनु भएको छ ।

 

अखिल नेपाल ट्रेड युनियन महासंघले शनिबार काठमाडौँमा गरेको राजनैतिक वैचारिक प्रशिक्षणलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले संविधान संशोधन गर्ने हो भने अब आफूहरूले यी एजेण्डामा संशोधनको विषय लिएर जाने बताउनु भएको हो ।

 

 

अध्यक्ष प्रचण्डले अहिले कथित संविधान संशोधनका नाममा दलाल पुँजीपति, नोकरशाह र माफियाहरूमार्फत जनताका अधिकार खोस्न खोजिएको आरोप लगाउनुभयो । ‘अहिलेको संविधान विस्तृत शान्ति सम्झौताको अङ्गको रूपमा रहेकाले शान्ति सम्झौताको एक हस्ताक्षरकर्ता माओवादीको सहमतिविना गर्न खोजिने संविधान संशोधनको प्रयास बेइमानी र जालझेल बाहेक अरू हुन सक्दैन’– उहाँले भन्नुभयो – ‘हाम्रो सहमतिविना संविधान संशोधन गर्ने उनीहरूलाई राजनीतिक र नैतिक दुबै अधिकार छैन ।’

 

 

माओवादीले संविधान निर्माण गर्दा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचन प्रणालीको आफ्नो एजेण्डा उठाएकोमा कांग्रेस र एमाले सहमत नभएकाले हामी कुनै पनि दिन यो मुद्दा लिएर आन्दोलनमा जाने छौँ भनेर नोट अफ डिसेन्ट लेखेको उहाँले स्मरण गराउनु भयो ।
अहिले बढिरहेको राजनीतिक भ्रष्टाचार निर्वाचन प्रणालीका कारणले भएको प्रचण्डले धारणा राख्नु भयो ।

 

Share: