दमक, ६ असोज । कोशी प्रदेशसभा सदस्य शोभा चेम्जोङ पालुङ्वाले महिला हकका सवालमा नेपालको संविधान दक्षिण एशियामा उत्कृष्ट भनिएको भएपनि व्यवहारमा त्यस्तो नभएको जनाउनु भएको छ ।
उज्यालो खबरले दमकमा आयोजना गरेको ‘संविधानको कार्यान्वयन र यसका चुनौती’ विषयक बृहत् बहस कार्यक्रममा बोल्दै सो कुरा बताउनु भएको हो ।
संविधानले महिलाका अधिकार अघि बढाएको भएपनि समग्र महिलाको अधिकार भनें स्थापित हुन बाँकी रहेको जनाउनु भयो । पितृसत्ताको दबदबाले पनि महिलाहरुका अधिकार कार्यान्वयनमा कठिनाइ भइरहेको उहाँको धारणा छ ।
महिला संघकी पूर्व केन्द्रीय सदस्य समेत रहनुभएकी उहाँले महिला अधिकारमा केन्द्रीत भएर धारणा राख्ने क्रममा भन्नुभयो ‘५१ प्रतिशत महिलाका लागि ३३ प्रतिशत मात्र सहभागिताको कुराले पुग्दैन । न्यायपालिका पनि ५० प्रतिशत अनि न्याय परिषदमा पनि सोही अनुसार महिलाको सहभागिता हुनु पर्छ । निजामति कर्मचारीमा महिला ४० प्रतिशत पुर्याउनु पर्नेमा २७ प्रतिशत मात्र छ ।’
चुल्हो चौकोमा रहेका महिलालाई सशक्तीकरणको मूल प्रभावमा कसरी ल्याउने भन्ने सवाल महत्वपूर्ण रहेको उहाँको धारणा छ । अंश र वंशको अधिकारमा पनि महिलाहरुको पक्षमा पूर्णता नभएको उहाँको टिप्पणी छ ।
https://www.facebook.com/share/v/2uhe5EszRbcqjnNb/