दमक, ९ असोज ।
गायक तथा संगीतकार शिशिर योगीको दमकमा एकल साँझ हुने भएको छ ।
नेपाल उद्योग तथा व्यवसायी महासघं कोशी प्रदेश र दमक नगर कमिटीको संयूक्त आयोजनामा असोज ११ गते सो साङ्गीतिक साँझ हुन लागेको दमकमा पत्रकार सम्मेलन गरी जानकारी गराइएको छ ।
महासघंका दमक अध्यक्ष रमेश लुईटेलका अनुसार यही असोज ११ गते साँझ ६ बजेबाट कस्मिक पार्टी प्यालेसमा सो साँझ हँुदैछ । यसले व्यवसायीहरुमा बढिरहेको नैराश्यता र चिन्तालाई हटाएर पुनःर्ताजगी गराउने विश्वास रहेको पनि उहाँले सुनाउनु भयो ।
आर्थिक मन्दीसहितको हरेक दिनको व्यवसायिक तनावले गर्दा व्यवसायीहरुमा दिग्दारी बढेको र एक अर्काको दुःख साटासाट गर्न पनि यो कार्यक्रम एक महत्वपूर्ण बन्ने विश्वास महासघंका केन्द्रीय सदस्य प्रकाश अधिकारीले बताउनु भयो । एक अर्कामा थप घुलमिल हुने, आ–आफ्नो व्यापारको अवस्थाको समीक्षा गर्ने र रमाइलो जमघट गराउने एउटा माद्यम यो कार्यक्रम बन्न सक्ने अधिकारीको भनाई छ ।
सो कार्यक्रममा ३ सय देखि ४ सय जनासम्म सहभागी हुने विश्वास आयोजकको छ । अहिलेसम्म २ सय टिकट वितरण भइसकेको र बाँकी अर्डर भइरहेको पनि पत्रकार सम्मेलनमा जानकारी दिइयो । कार्यक्रममा सहभागी हुन एकजनाले १ हजार र दुईजना वा जोडीले १ हजार ५ सयको टिकट किन्नु पर्ने हुन्छ । यसमा साङ्गीतिक मनोरञ्जनका साथै बेलुकाको खानाको पनि प्रबन्ध रहेको आयोजकले जनाएको छ ।