मन्त्री दाहाललाई गौरवका आयोजना सञ्चालन गर्न ध्यानाकर्षण

दमक, १२ असोज /
संघीय सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाललाई दमकमा सञ्चालनमा रहेका आयोजनाका बारेमा जानकारी गराउँदै सञ्चालन हुन नसकेका आयोजना यथाशिघ्र सञ्चालनका लागि ध्यानाकर्षण गराइएको छ ।

 

 

शनिबार नेकपा एमाले दमक नगर कमिटीले औपचारिक कार्यक्रमको आयोजना गर्दै मन्त्री दाहाललाई यहाँ सञ्चालनमा रहेका र सञ्चालन हुन नसकेका योजनाकाबारेमा जानकारी गराएको हो ।

 

नगर कमिटी अध्यक्ष राम पौडेलले दमक बिजनेश टावर यथासक्य सञ्चालन गर्न पहल गर्ने र दमकमा बन्ने योजना अघि बढेर रोकिएको औद्योगिक पार्कको काम अघि बढाउनु पर्ने माग अघि सार्नुभयो । साथै उहाँले मदन भण्डारी रङ्गशाला निर्माणको काम अन्तिम प्रक्रियामा रहेको भनिएकोमा त्यसको थप प्रगति गराई काम अघि बढाउनुपर्ने, दमक सभाहल निर्माण सम्पन्न भएपनि सञ्चालनमा कठिनाई भएकाले सञ्चालन गराउनु पर्ने लगायतका आयोजनाका बारेमा ध्यानाकर्षण गराउनु भएको हो ।

सो ध्यानाकषणर्पत्र बुझ्दै मन्त्री दाहालले दमक बिजनेश टावर सञ्चालनको कार्यविधि निर्माण भइसकेको र स्वीकृत हुन बाँकी रहेको, औद्योगिक क्षेत्र निर्माणको प्रकृया पनि अघि बढेको साथै अन्य आयोजनाहरुको सञ्चालन गर्ने प्रक्रियामै रहेको जानकारी गराउनु भयो ।

https://www.facebook.com/share/v/1J5kFgR2mU8mqE81/

कार्यक्रममा नेकपा एमालेका केन्द्रीय, प्रदेश स्तरीय, जिल्ला तथा अन्य भूगोलका नेता तथा कार्यकर्ताहरुको उपस्थिती रहेको थियो । मन्त्री दाहाल अहिले गृह जिल्लाको भ्रमणमा हुनुहुन्छ । उहाँ आइतबार काठमाडौं फर्किनु हुने उहाँको सचिवालय सदस्य गोपाल झापालीले जानकारी दिनुभयो ।

Share: