दमक, १४ असोज / केही दिनदेखिको लगातारको वर्षाका कारण उत्पन्न बाढीपहिरो र डुबानमा परी नेपालमा हालसम्म एक सय ९२ को ज्यान गएको छ भने एकसय ९४ जना घाइते र ३० जना बेपत्ता भएका छन् ।
बाढीपहिरोपछिको खोज, उद्धार र राहतका लागि सबै सुरक्षा निकाय परिचालित भई हालसम्म करिब चार हजार पाँच सयभन्दा बढी विपद् प्रभावितको उद्धार गरिएको गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिनुभयो ।
बाढीपहिरो प्रभावितलाई खाद्यान्नलगायत आपत्कालीन राहत सामग्री उपलब्ध गराइएको तथा घाइतेको निःशुल्क उपचार भइरहेको जानकारी दिइएको छ । सरकारले खोज, उद्धार र राहतलाई उच्च प्राथमिकता दिएको छ । यातायात सञ्चालन गर्न अवरुद्ध राजमार्ग खोल्न पहल भइरहेको पनि प्रवक्ता तिवारीले उल्लेख गर्नुभयो ।
झापामा राहत वितरण
झापाका बाढी पीडितहरुका लागि पनि राहत वितरण थालिएको छ । कचनकवल गाउँपालिकाले आफ्ना पालिकाभित्रका बाढीपीडितलाई राहत वितरण गरेको हो ।
बाढीमा परी धनमालसहित घरबारविहीन भएका कचनकवल-३,६ र ७ नं वडाका १२२ घरधुरीलाई खाद्यान्न वितरण गरिएको छ ।
त्यस्तै, बिरिङ खोलाको बाढीबाट डुबानमा परेका झापा गाउँपालिकाका ४७ बाढीपीडित परिवारलाई राष्ट्रिय सवतन्त्र पार्टीको अगुवाईमा खाद्यान्न सामग्री वितरण गरिएको छ । झापा गाउँपालिकाको वडा नं ६ चन्द्रवस्तीमा पसेको बिरिङ खोलाको बाढीले डुबाएका ४७ परिवारका २३५ जनालाई वडा कार्यालयले उपलब्ध गराएको खाद्यान्न सामग्री रास्वपा सदस्य दिपक तामाङको अगुवाईमा वितरण भएको छ ।
डुबानबाट बिस्थापित गौरीगञ्जका २४ परिवारलाई राहत सामग्री वितरण गरिएको छ । विस्थापित परिवारलाई जिल्ला रेडक्रस सोसाइटी झापाले त्रिपालको व्यवस्था गरेको छ ।