दमकमा भीआइए तथा महिलाको स्वास्थ्य सम्बन्धीको निःशुल्क शिविर

दमक, १५ असोज
पछिल्लो समय महिलामा बिभिन्न स्वास्थ्य जटिलता तथा समस्या देखिन थालेका छन् । ती समस्याको पहिचान र खोजी गर्दै त्यसको निराकारणका लागि कतिपय पालिका सरकारले सक्रियता देखाएका छन् ।

 

यसक्रममा दमक नगरपालिका वडा नं ६ ले यही सन्दर्भमा काम सुरु गरेको छ । जसअन्तर्गत सोमबार वडाले महिलाहरुको रोगको पहिचान गर्न महिलारोग विशेषज्ञ सहितको स्वास्थ्यकर्मी सहभागि गराएर बृहत स्वास्थ्य शिविर गर्यो । शिविरमा महिलाको पाठेघरको मुखको क्यान्सर परीक्षण गर्न भीआइए शिविर पनि गर्यो । शिविरमा महिलाहरुको उल्लेख्य उपस्थिती रह्यो ।

 

शिविर उद्घाटन गर्दै दमक नगरपालिकाका प्रमुख राम कुमार थापाले महिलाहरुको स्वास्थ्य सम्बन्धमा आफूहरु सचेत रहेको र स्वास्थ्य सुरक्षित राख्ने कार्यक्रमलाई वडामार्फत टोल टोल र घर घरसम्म पनि पुर्याउने कार्यक्रमको बारेमा जानकारी गराउनु भयो ।

 

कार्यक्रममा कोशी प्रदेशसभा सदस्य तथा प्राकृतिक श्रोत तथा पूर्वाधार समितिका सभापति समेत रहनु भएका होम बहादुर थापाले यसखाले कार्यक्रमले महिलाहरुमा देखिने समस्याको बारेमा पहिचान हुने जनाउनु भयो । साथै उहाँले सरकारले अब स्वास्थ्यको क्षेत्रमा कस्तो कार्यक्रम गर्न आवश्यक रहेछ भन्ने कुराको आधार समेत तय हुने उल्लेख गर्नुभयो ।

वडा नम्बर ६ का अध्यक्ष टेक बहादुर थापाले महिलाको स्वास्थ्यलाई ध्यान दिएर आयोजना गरिएको यो शिविर प्रभावकारी हुने बताउनु भयो । वडाले सुविधा सम्पन्न ल्याव निर्माण गरेको तर अझै केही कुराको अभाव रहेकोले त्यसको पूर्तिका लागि उहाँले कोशी प्रदेश सरकारलाई अनुरोध समेत गर्नु भयो । साथै यहाँ हरेक मंगलबार विशेषज्ञ सेवा समेत प्रदान हुँदै आएको जानकारी गराउनु भयो ।

 

सो शिविरमा औषधी व्यवसायी संघ झापाले आवश्यक पर्ने औषधीहरु निःशुल्क वितरण गरेको थियो भने सहभागि सबै महिलाको महिला रोग विशेषज्ञहरुले चेकजाँच गर्नु भएको थियो ।

Share: