पथरी, १५ असोज । एकताका खुब चल्तिमा रहेको पुराना मोटरसाइकल मर्मत गरेर बिक्री गर्ने ‘रिकन्डिसन’को व्यवसाय अहिले संकटमा पर्दै गएको छ ।
नयाँ किन्ने तुलनामा सस्तोमा आफूलाई आवश्यक पर्नेखाले विभिन्न कम्पनी र मोडेलका मोटरसाइकल किन्न पाइने हिसावले रिकन्डिसन पसल मध्यमखाले उपभोक्ताको रोजाईकोस्थल बन्दै आएको थियो ।
मोटरसाइकल सो रुमहरुले पनि बिक्री नभएका मोटरसाइकल सट्टापट्टाको अफर सहित पहिले रिकन्डिसन पसलमा दिने गर्थे । हाल सो रुमहरुले पनि आफैं बिक्री गर्ने तथा अनलाइन माध्यमबाट बिक्री गर्ने चलन बढेपछि रिकन्डिसन् पसल थापेर बसेकाहरुमा संकट उत्पन्न हुँदै गएको मोरङको पथरी शनिश्चरे १ स्थित ओमसाई अटो अन्तर्गतको पथरी रिकन्डिसनका सञ्चालक शम्भू बुढाथोकीले अनुभव सुनाउनु भयो ।
सम्भू बुढाथोकी र योगेन्द्र प्रसाईंले विगत ११ वर्षबाट सञ्चालनमा ल्याएको सो पसलले पहिले महिनामा ६० वटासम्म मोटरसाइकल बिक्री गर्ने गरेको थियो । तर हाल महिनामा १२ वटासम्म मात्र बिक्री हुने गरेको बुढाथोकीले उल्लेख गर्नुभयो ।
बैंकबाट ३ करोड ऋण निकालेर पसल थालिएकोमा मासिक ३ लाख बढी व्याज तिर्नुपर्ने भएपछि त्यो तिर्न समस्या भइरहेको बुढाथोकीले समस्या दर्शाउनु भयो । सो पसलमा स्थानीयहरुबाट खरिद गरेको विभिन्न कम्पनी र मोडेलका हालसम्म ३६ वटा मोटरसाइकल छन् । बुढाथोकीले ५० प्रतिशतको संख्यामा रिकन्डिसन पसल बन्द भइसकेको अनुमान गर्नुभयो ।