"माई मेला नलगाउने"

बढ्दो कोरोना सङ्क्रमणका कारण  झापाको माई मेला नलाग्ने

झापा /
यस वर्षको कन्काई माई मेला नलाग्ने भएको छ । सोमबार दिउँसो कन्काई नगरपालिकामा बसेको कन्काई नगरपालिका र शिवसताक्षी नगरपालिकाको संयुक्त बैठकले माई मेला नलगाउने निणर्य गरेको हो ।

बढ्दो कोरोना सङ्क्रमणका कारण देखाउँदै कोभिड-१९ सङ्कट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी)ले सार्वजनिक स्थलमा २५ जनाभन्दा बढी भेला हुने कार्यक्रममा रोक लगाउन गृह प्रशासनलाई सिफारिस गरेपछि माई मेला स्थगित गरिएको हो ।

सीसीएमसीसीको निणर्यलाई आधार मानेर बढ्दो कोरोना सङ्क्रमणका कारण माई मेला नलगाउने निणर्य गरिएको बैठकमा सहभागी इलाका प्रहरी कार्यालय बिर्तामोडका डिएसपी सन्तोष आचार्यले बताए ।

बैठकमा कन्काई नगरपालिकाका नगर प्रमुख, उपप्रमुख, शिवसताक्षी नगरपालिकाका नगर प्रमुख, उपप्रमुखलगायतको सहभागिता रहेको थियो । कन्काई नदीको पूर्वपट्टि कन्काई नगरपालिका र पश्चिमपट्टि शिवसताक्षी नगरपालिकाले मेला लगाउने गरेका छन् ।

शिवसताक्षी नगरपालिकाले मेला ठेक्का लगाउनका लागि सम्झौता गर्न लागेको थियो भने कन्काई नगरपालिकाको मेला ठेक्का लाग्न बाँकी रहेको जनाइएको छ ।

Share: