लेटाङ, २९ असोज / रंगशाला निर्माण सहितको सामाजिक काममा सक्रिय भएको सात वर्षको अन्तरालपछि कला क्षेत्रमा फर्किनु भएका प्रख्यात हास्य कलाकार जोडी सिताराम कट्टेल (धुर्मुस) र कुन्जना घिमिरे (सुन्तली ) ले पछिल्लोपटक मोरङको लेटाङ महोत्सव तताउनु भएको छ ।
नेपालीहरुको चार्ड दशैको अवसरमा गाउँले ईन्टरटेन्मेन्ट क्लब लेटाङ-४ द्वारा आयोजित महोत्सवमा सोमबार साझ धुर्मुस सुन्तलीले आफ्नो प्रहसन सहितका सन्देशमूलक प्रस्तुति दिएर दर्शकको पुरानो माया बल्झाउनु भएको छ । वहाँहरूको यो प्रस्तुति लेटाङमा पहिलो पटक हो ।
कार्यक्रम अघि धुर्मुसले उज्यालो खबरसंगको कुराकानीमा आफू मुख्यरूपमा कलाकार भएरै बाच्ने उल्लेख गर्दै केही समय परिस्थिति अनुरूप सामाजिक काममा समेत होमिएको कुरा सामान्य गतिविधिमा लिने गरेको सुनाउनु भयो । तर कुरै नबुझी अनर्गल रूपमा टिप्पणी गरिएकोप्रति वहाँको भावनात्मक प्रतिटिप्पणी छ ।
सितारामले यसअघि आफ्नो जोडीले युरोपका ११ देशमा कार्यक्रम गरेर दर्शकको पहिलेको माया उस्तै रूपमा फर्किएर आएको उल्लेख गर्दै अब चलचित्र लाजसरणमको आधा बाकी रहेको सुटिङ सकेर अमेरिका सहितका देशहरूको प्रस्तुतिमा निस्कने बताउनु भयो ।