दमक, कार्तिक २ / पूर्व उपप्रधान एवं गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई प्रहरीले अदालतको आदेशमा सहकारीको रकम अपचलन मुद्धामा शुक्रबार पक्राउ गरेको छ ।
सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न आरोपमा अनुसन्धान गर्न कास्की जिल्ला अदालतले प्रहरीलाई पक्राउ गर्न अनुमति दिएर पुर्जी जारी भएलगत्तै प्रहरीले लामिछानेलाई पक्राउ गरेको हो ।
सूर्यदर्शनको रकम अपचलन गरेको आरोपमा असोज ६ मा पक्राउ परेका पूर्व डीआईजी छबिलाल जोशीको बयान लिइसकेको छ ।
शुक्रबारै लामिछानेका सहकर्मी पूर्व डीआइजी जोशीलाई पनि अदालतले अनुसन्धानका लागि २० दिन म्याद थप गरेको छ । असोज १७ गतेदेखि लागू हुने गरी जोशीलाई उक्त समय म्याद थप गरिएको हो ।
योसँगै रवि र छवि दुवै थुनामा रहने देखिएको छ । गोर्खा मिडियामा पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलन गरेको अभियोगमा दर्ता भएको पूरक जाहेरीका आधारमा अनुसन्धानका लागि प्रहरीले रविलाई पक्राउ गरेको हो ।
पक्राउ परेका रविलाई आइतबारमात्र कास्की जिल्ला अदालतमा पेस गरिन्छ । शनिबार बिदा भएकाले प्रहरीले आइतबारमात्र उनलाई कास्की जिल्ला अदालतमा पेस गर्नेछ । अदालतमा रविमाथि अनुसन्धानका लागि प्रहरीले समय माग गर्नेछ ।
जिल्ला सरकारी वकिल कार्यालय कास्कीसहितको टोलीले लामिछानेमाथि अनुसन्धान सुरु गर्नेछ । प्रहरीले लामिछानेमाथि तीन अभियोगमा अनुसन्धान गर्ने देखिन्छ । यसअघि पक्राउ परेका जोशीमाथिका सबै अभियोगमा रविमाथि पनि अनुसन्धान हुनेछ ।
लामिछानेलाई सहकारीको रकम संगठित रूपमा ठगी गरेको भन्दै सहकारी ऐन, २०७४ र संगठित अपराध निवारण ऐन, २०६४ ले वर्जित गरेको कसुर र सम्पत्ति शुद्धीकरणमा अनुसन्धानका लागि प्रहरीले म्याद माग गर्नेछ ।
सूर्यदर्शन सरकारीमा संगठित रूपमा ठगी गरेकाले ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा अनुसन्धान हुनेछ । आइतबार रविलाई अदालतमा पेस गरिएपछि सरकारी वकिलहरूले बहस गर्नेछन् । दुवै पक्षको बहसपछि अदालतले अनुसन्धानका लागि प्रहरीलाई उचित समय उपलब्ध गराउने छ । हालसम्मको अभ्यास हेर्दा सुरुमा पाँचदेखि सात दिन म्याद थप हुने देखिन्छ । उक्त म्याद सकिएपछि फेरि म्याद थपका लागि अदालतमा पेस गरिन्छ । ६० दिनसम्म ठगीमा र सम्पत्ती सुद्धिकरणमा ९० दिनसम्म अनुसन्धानको समय रहन्छ ।
सूर्यदर्शन सहकारीको संस्थापक अध्यक्ष गीतेन्द्रबावु (जीबी) राईसँग मिलेर लामिछानेले गोर्खा मिडिया नेटवर्कमा रकम ल्याएर अपचलन गरेको मुद्दा जिल्ला प्रहरी कार्यालय कास्कीमा परेको थियो । सो को अनुसन्धानका क्रममा लामिछानेलाई पक्राउ गरेर राख्न अदालतले भनेको थियो ।
सूर्यदर्शनको रकम अपचलन गरेको आरोपमा असोज ६ मा पक्राउ परेका पूर्व डीआईजी जोशीको बयान लिइसकेको छ ।
पूर्व डीआईजी जोशी, पूर्व गृहमन्त्री लामिछाने र सूर्यदर्शन सहकारीको संस्थापक अध्यक्ष गीतेन्द्रबावु (जीबी) राई व्यापारिक साझेदार रही सञ्चालन गरेको गोर्खा मिडिया नेटवर्कमा पाँच वटा सहकारीबाट ६५ करोड ५४ लाख अवैध तरिकाले आएको सूर्य थापा नेतृत्वको संसदीय छानबिन समितिको निष्कर्ष छ । लामिछाने गोर्खा मिडियाका निर्देशक हुनुहुन्थ्यो । गोर्खा मिडियामा आएको रकम लामिछानेले खर्च गरेको देखिएको प्रतिवेदनमा उल्लेख छ ।
जोशी २०७८ मा र लामिछाने २०७९ मा गोर्खा मिडियाबाट अलग हुनु भएको थियो । तीनै जना त्यहाँ हुँदा नै सहकारीको रकम अवैध तरिकाले आएको प्रहरीको अनुसन्धानबाट देखिएको छ ।









