दमक, कार्तिक ४ । सहकारी ठगी आरोपमा पक्राउ पूर्व उपप्रधान, गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई अनुसन्धानका लागि ६ दिन म्याद थप गरिएको छ ।
पोखराको सूर्यदर्शन सहकारी रकम अपचलन प्रकरणमा पक्राउ लामिछानेलाई जिल्ला अदालत कास्कीमा आइतबार पेश गरिएपछि अनुसन्धानमा ६ दिन म्याद थप गरिएको हो ।
लामिछानेलाई अदालतमा पेश गर्नुअघि पोखराको सहिदचोकमा पार्टीका नेता कार्यकर्ताहरु बचाउमा ठूलो संख्यामा जम्मा भएका थिए भने कारबाहीको माग गर्दै राष्ट्रबैंक चोकमा सहकारी पीडितहरु पनि जम्मा भएका थिए ।
जिल्ला प्रशासन कार्यालयले सम्भावित स्थिति नियन्त्रण गर्न सहिदचोक आसपासका क्षेत्रमा अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको छ । निषेधाज्ञा तोडेर नाराबाजी गर्ने क्रममा प्रहरीसँग ठेलाठेल समेत भएको थियो । स्थितीलाई साम्य पार्न प्रहरीले पानीको फोहोरा र अश्रुग्यास प्रहार गरेको थियो ।
शुक्रबार काठमाडौं वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयबाट प्रहरीले पक्राउ गरी लामिछानेलाई सोही दिन राति पोखरा पुर्याइएर अनुसन्धानको प्रक्रिया थालिएको थियो ।
सभापति लामिछाने र रास्वपा पार्टीले राजनीतिक पूर्वाग्रह साँधेर मुद्धा चलाएको जिकिर गरिरहेको अवस्था छ ।