मेचीनगर, कात्तिक १०
आठौँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण रोलिङ च्यालेन्ज कपको उपाधि आयोजक रोलिङ क्लबले अन्त जान नदिइ आफैंले सुरक्षित बनाएको छ ।
धुलाबारी नुमना माविको खेल मैदानमा शनिबार सम्पन्न फाइनल खेलमा पाहुना टोली दार्जीलिङको मानेभञ्ज्याङ एफसीलाई टाइब्रेकरमा हराउँदै रोलिङले उपाधि आफूसँगै सुरक्षित बनाएको हो । टाइब्रेकरमा रोलिङले माने भञ्ज्याङलाई ३-१ गोल अन्तरले हराएर उपाधि कब्जा गरेको हो ।
यसअघि खेलको ४२ औँ मिनेटमा रोलिङका लागि रोहण कार्कीले एक गोल गरेपनि मानेभञ्ज्याङका लागि ६६ औँ मिनेटमा कप्तान सोनाम जङपोले एक गोल गर्दै खेल बराबरीमा ल्याउनु भएपछि जितको छिनोफानो टाइब्रेकरबाट गरियो ।
उपाधिसँगै रोलिङले नगद ३ लाख, ट्रफी र मेडल पायो भने उपविजेतामा सीमित मानेभञ्ज्याङले नगद एक लाख ५० हजार, ट्रफी र मेडलमा चित्त बुझायो ।
फाइनल खेलको प्लेयर अफ द म्याच रोलिङका गोल किप्पर युवराज पुरीलाई नगद पाँच हजार र ट्रफी प्रदान गरियो ।
त्यस्तै, प्रतियोगिताको उत्कृष्ट गोलकिप्पर रोलिङका अभिषेक बराल, उत्कष्ट डिफेन्डर रोलिङका सेमन्त थापा, उत्कृष्ट मिडफिल्डर मानेभञ्ज्याङका रोबर्ट, उदीयमान खेलाडी रोलिङका निरज कार्की, उच्च गोलकर्ता रोलिङका उत्सव राई र प्रशिक्षक रोलिङका सचिन्द्र धिमाल बन्नु भयो ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी रोलिङका रोहण कार्कीलाई घोषित गरी नगद १५ हजार र ट्रफी प्रदान गरियो ।
विजेता तथा उपविजेतालाई प्रमुख अतिथि प्रदेशसभा सदस्य गोपाल तामाङ, अर्जुनधारा नगरप्रमुख बलदेव गोम्देन, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य नरेन्द्रकुमार खड्का, मेची उद्योग वाणिज्य संघका अध्यक्ष खेमराज प्रसाईं, क्लबका अध्यक्ष नोबेम्बर नेम्वाङ लगायतले पुरस्कार वितरण गर्नुभएको थियो ।