दमक, कार्तिक १३
विभिन्न चाडपर्वमा शुभकामना आदान प्रदान गर्ने आआफ्ना तरिका हुन्छन् । चाडपर्वले सवैको सुख, शान्ति र समृद्धि बढोस् भनेर शुभकामना प्रदान गर्ने विभिन्न चलन मध्ये यो वर्षको दीपावलीको अवसरमा सोमबार दमकमा सृजनशील तरिकाको शुभकामना कार्यक्रम आयोजना भएको छ । जसले मनलाई शान्त बनाएर पुनर्ताजगी गराउने काम गरेको छ ।
जुन काम विहानी कला केन्द्र दमकले गरेको हो । त्यहाँका विद्यार्थीहरुले प्रस्तुत गरेका सांगीतिक कोशेलीबाट आनन्द लिँदै अतिथिहरुले विहानी कलाकेन्द्रप्रति खुलेर प्रशंसा व्यक्त गरे ।
कार्यक्रमका अतिथि शैक्षिक व्यक्तित्व चन्द्रप्रसाद खनालले संगीतको प्रभावकारिता र विहानी कलाकेन्द्रको प्रभावसहित जोडेर मन्तव्य व्यक्त गर्नुभयो ।
कार्यक्रमका विशिष्ट अतिथि दमक नगर प्रवक्ता एवम् ८ नम्बर वडाध्यक्ष धर्मप्रसाद दाहाल दीपेशले सृजनशील तरिकाले गरिएको शुभकामनाप्रति खुसी व्यक्त गर्दै सरकारले गर्ने काम कलाकेन्द्रले गरेकोमा प्रशंसा गर्नुभयो । उहाँले नगरपालिकाले कलाको प्रवद्र्धनको प्रयास स्वरुप सामुदायिक विद्यालयहरुमा नृत्य शिक्षकको व्यवस्था गर्दै गरेको सुनाउनु भयो ।
कार्यक्रमका प्रमुख अतिथि दमक नगर प्रमुख राम कुमार थापाले संस्कृतिलाई सृजनात्मक हिसावले मौलिक रुपमा मनाउने सन्देश युवा पुस्तालाई प्रवाह गर्नु महत्वपूणर् काम भएको धारणा राख्नु भयो ।
कार्यक्रममा कलाकेन्द्रका ससाना प्रशिक्षार्थीहरुको प्रस्तुतिले अतिथि सहितका सहभागिको अझ मन तान्न पुग्यो । उनीहरुको गीत सुनेर सहभागिले निकै आनन्द लिएका छन् ।
कार्यक्रममा दमकका अगुवा गीतसंगीतकर्मीहरु भीमप्रसाद न्यौपाने, राम विष्ट, शिव नेपाल अनि विहानी कलाकेन्द्र उर्लाबारीकी यशोदा शाक्यको उपस्थितीले नवयुवा पुस्ताहरुलाई थप उत्साहित बनाएको थियो ।
सो अवसरमा कलाकेन्द्रको परीक्षामा उत्तिणर् विद्यार्थीहरुका लागि सर्टिफिकेट समेत वितरण गरियो ।
गीत संगीत क्षेत्रमा केही गर्ने हुटहुटीकासाथ अग्रसर कमला खनाल रिजाल र हेमन्त रिजाल दम्पतीले विहानी कला केन्द्र उर्लाबारीमार्फत ०६५ सालबाट ‘विहानी कलाकेन्द्र दमक’ खडा गरेर गीतसंगीत सिकाउने काम भइरहेको छ । त्यहाँ सर्वभारतीय संस्कृति परिषद कोलकताबाट अनुबन्धन लिएर प्रभाकर ( स्नातक) तहसम्मको सिकाई हुने गरेको छ ।









