चुलाचुली अस्पतालको सहयोगार्थ समावेशी महायज्ञ

दमक, कार्तिक १६
दक्षिणी इलामको चुलाचुली गाउँपालिका अन्तर्गतको अस्पताललाई १५ शैयाको निर्माण गर्दै त्यस्को व्यवस्थित सञ्चालनमा सहयोग जुटाउन कार्तिक २६ देखि मंसिर ३ सम्म समावेशी सप्ताह महायज्ञको आयोजना गरिने भएको छ ।
चुलाचुली गाउँपालिकाको संयोजनमा हुने महायज्ञ सञ्चालनका सन्दर्भमा  आयोजित पत्रकार सम्मेलनमा सो कुरा जानकारी गराइएको हो । पत्रकार सम्मेलनमा चुलाचुली गाउँपालिकाका अध्यक्ष राजेन्द्र केरुङले सवै जातजातिको मिश्रित थलो चुलाचुलीको थप जातीय सद्भाव कायम गर्दै चुलाचुली २ मा निर्माण भएको अस्पताल सञ्चालनमा हातेमालो गर्न समावेशी महायज्ञको आयोजना गरिने प्रेस विज्ञप्तिमार्फत जानकारी गराउनु भयो ।

समावेशी महायज्ञमा हिन्दुधर्मकी प्रभावकारी भावगत वाचक राधिका दासी, प्रेमवादका प्रवद्र्धक ओमनन्दसहित बौद्ध, किरात लगायतका धर्मका ज्ञाताहरुले दैनिक प्रवचन दिने कार्यक्रम रहेको जानकारी गराइएको छ ।
करिब ३५ लाख खर्च हुने र १ करोड हाराहारीमा दान संकलन हुने आयोजकले अनुमान गरेको छ । महायज्ञ सञ्चालनकै सन्दर्भमा मंसिर २ गते स्वास्थ्य मन्त्री प्रदीपकुमार पौडेल र इलाम निर्वाचन क्षेत्र नम्बर २ का सांसद सुहाङ नेम्वाङले संयुक्त रुपमा अस्पतालको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

Share: