आज हरिबोधिनी एकादशी, तुलसीको विवाह सम्पन्न

दमक, कार्तिक २७
कार्तिक शुक्ल एकादशीका दिन भगवान् विष्णुको प्रतीकका रूपमा तुलसीको दामोदरसँग विवाह र विशेष पूजा गरी मनाइने हरिबोधिनी एकादशी पर्व मंगलबार (आज) मनाइएको छ ।

 

हरिशयनी एकादशीदेखि हरिबोधिनी एकादशीसम्म चार महिना विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा गर्दै आएकामा आज तुलसीको दामोदरसँग विवाह गरी यो पर्व मनाइएको हो । घरघरमा रोपेर विशेष पूजा गरिएको तुलसीको मठमा गाईको गोबर र रातो माटोले पोतेर सिँगारी मठको चारैतिर विष्णुको प्रतीकका रूपमा निगालो वा बाँसको लिङ्ग गाडेर फूलमालाले सजाएर विवाह गर्ने शास्त्रीय प्रचलन छ ।

 

आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिनमा क्षीरसागरमा सुतेका विष्णु ब्युँझिने भएकाले आजको एकादशीलाई हरिबोधिनी वा प्रवोधिनी एकादशी पनि भन्ने गरिएको छ ।

 

तुलसी विष्णुप्रिया भएकाले यस दिन तुलसीको दामोदरसँग विवाह गर्ने शास्त्रीय मान्यता रहँदै आएको छ । कार्तिक महिनाभर सबै देवदेवी तुलसीमै निवास गर्छन् भन्ने धार्मिक विश्वास छ।

 

 

आदिकालदेखि पूजाको परम्परा बसेको तुलसीको महिमा वैज्ञानिक रूपमा पनि लाभदायक प्रमाणित भएको छ। यसैले तुलसीको मठ हुने घरलाई तीर्थ समान मानिन्छ । तुलसीको सुगन्धले दशदिशा पवित्र हुन्छ भनिन्छ । तुलसीको पूजा गरिएको घरमा यमदूत पनि पस्दैनन् भन्ने आस्थाका कारण हिन्दू धर्मावलम्बीले घरमा तुलसीको मठ बनाउँछन् ।

 

 

तुलसीको पात, डाँठ वा फूलको रस रुघाखोकी र औलोलगायत रोगका लागि औषधि हुन्छ । यो रस शरीरमा लगाएर सुतेमा लामखुट्टेले टोक्दैन । तुलसीको मठ भएको स्थल वरपर विषालु सर्प पनि आउँदैन। मठको वरपर बहने हावाले विषालु कीटाणुलाई नष्ट गर्दछ । सबै प्राणीका लागि तुलसीलाई महाऔषधि मानिन्छ ।

 

यो पर्वका अवसरमा देशभरका नारायण मन्दिरमा विशेष पूजा गरिएको छ । वर्षमा एक दिन धेरै दर्शनार्थीले पूजा आराधना गर्न आउने गरेकाले काठमाठौंस्थित दक्षिणकालीको शेषनारायण मन्दिरमा विशेष व्यवस्था गरिएको छ ।

 

 

यसैगरी बूढानीलकण्ठ नारायणस्थानमा आजदेखि कार्तिक शुक्ल पूणर्िमाका दिनसम्म विशेष मेला लागेको छ ।

Share: