गुराँस विस्तारमा तेह्रथुममा २८ हजार बिरुवा हुर्काइँदै

तेह्रथुम, कार्तिक २८
गुराँसको राजधानी घोषणा गरिएको तेह्रथुम, सङ्खुवासभा र ताप्लेजुङ जिल्लाको सङ्गमस्थल तीनजुरे-मिल्के-जलजले (टीएमजे) क्षेत्रमा गुराँस संरक्षण र यसको विस्तारका लागि सो क्षेत्रमा २८ हजार विरुवा हुर्काइँदै गरेको छ ।

 

२८ प्रजातिका गुराँस पाइने टीएमजेअन्तर्गतको तेह्रथुम जिल्लाको तीनजुरे क्षेत्रमा पर्ने लालीगुराँस नगरपालिका-७ स्थित तीनजुरे रातपोखरी सामुदायिक वनमा आबद्ध समूहले २८ हजार पाँच सय गुराँसको नर्सरी हुर्काइरहेको हो । गुराँसको फूल हेर्न आउने पर्यटकलाई गुराँसको बिरुवा पनि उपलब्ध गराउने उद्देश्यले बिरुवा उत्पादन गरिएको समूहका अध्यक्ष बेगबहादुर खड्काले जनाउनु भयो ।

 

बिरुवा बेचेर आम्दानीसँगै गुराँस संरक्षणको सन्देश प्रवाह गर्न नर्सरी राखिएको जनाउँदै उहाँले हाल सात प्रजातिका गुराँसका बिरुवा नर्सरीमा हुर्किरहेको उल्लेख गर्नुभयो । उपभोक्ता समूहले नर्सरीबाट यस वर्ष इलामको सूर्योदय नगरपालिकामा चार सय ४० र दार्चुलामा एक सय ८६ गुराँसका बिरुवा बेचेको गरेको छ । डिभिजन वन कार्यालयसँगको साझेदारीमा यस वर्ष १७ हजार पाँच सय गुराँसका बिरुवा रातपोखरी सामुदायिक वनले हुर्काएको छ ।

 

 

गत वर्ष लालीगुराँस नगरपालिकाको सहयोगमा ११ हजार बिरुवा उत्पादन गरिएको छ । जङ्गलबाट सानासाना बिरुवा उखेलेर नर्सरीमा राख्ने गरिएको छ । दुई, तीन वर्षयताका बिरुवा नर्सरीमा छन् । वन उपभोक्ता समूहले बिरुवा खरिद गर्ने ग्राहकको खोजी पनि गरिरहेको छ ।

 

 

गुराँसका बिरुवा वैशाख अन्तिमदेखि असार मसान्तसम्ममा रोपिसक्नुपर्ने उपभोक्ता समूहका सचिव देवी पौडेललेले बताउनुभयो । जिल्ला समन्वय समितिले गरेको अनुगमनका क्रममा ९० प्रतिशत बिरुवा सरेको पाइएको छ ।

 

 

सो क्षेत्रमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट एक करोडको लागतमा राष्ट्रिय लालीगुराँस उद्यान निर्माण भएको छ । लालीगुराँस उद्यानमा नयाँ सहर आयोजनाले बाटो र शौचालय निर्माण गरेपछि त्यहाँ पुग्ने आन्तरिक तथा बाह्य पर्यटकलाई सहज भएको राससले उल्लेख गरेको छ । गुराँस फूलेको समयमा त्यहाँ हजारौं पर्यटक पुग्ने गरेका छन् ।

 

 

Share: