"सुरुङ्गा गौहत्या प्रकरण"

घरभरी रगतै रगतको दुर्गन्ध, धर्ममाथिकै प्रहार भएको धारणा

सुरुङ्गा, मंसिर १२
जस्ता पाताको छानो भएको भूईँ घर । चार वटा कोठामा प्राय रगत मासुको दुर्गन्ध छ । त्यसमध्येमा पनि सबै भन्दा उत्तरपश्चिमको कोठामा त रगतको आहाल नै देखिन्छ । त्यसको ढोकाभरी उसैगरी रगतै रगत छ ।
झापाको कन्काई ३ सुरुङ्गाचोकस्थित टप्पु टोलको पूर्वपश्चिम कालोपत्रे सडकको उत्तरतर्फको यो घर यतिबेला गौहत्याको कारणले चर्चामा छ । यो लीला संग्रौलाले भाडामा लगाएको घर हो । केही व्यक्तिहरु भाडामा बसेर ज्याला मजदुरी गर्दै आएको सोही घरमा पूणर्प्रसाद फुयाँलको गोठमा बाँधेको लीलाप्रसाद सिलवालको  लैनो गाई चोरी गरी काटिएको थियो ।
गाईधनी सिलवालले मंगलबार विहान दूध दुहुन जाँदा गाई नदेखेपछि चोरी भएको भनी इलाका प्रहरी कार्यालय, सुरुङ्गामा जानकारी गराउनु भयो । तर दिउँसो १ बजेतिर संग्रौलाको घरभित्र सो हराएको गाई काटिएको स्थानीयले सुँइको पाएपछि प्रहरीलाई खबर गरेका थिए । गाई चोरेर काटेपछि गाईधनी सिलवाल ज्यादै दुःखी हुँदै अपराधीमाथि कारबाहीका लागि प्रहरी प्रशासनको भर पर्नुभएको छ ।
कनकाई नगरको नजिकै पर्ने शिवसताक्षीस्थित सताक्षीधाममा मंसिर १४ गतेबाट गोरक्षाका लागि महायज्ञको सुरु हुने संघारमा भएको गौहत्याको घटनाले विशेषगरी हिन्दु सनातन धर्ममाथिको प्रहार भएको हिसाबले समेत हेरिएको छ । गौहत्या भएको घर नजिकका छिमेकी गणेशप्रसाद भट्टराईले नेपालको राष्ट्रिय जनावर मात्र नभई हिन्दुको आस्थासंग जोडिएको गाईलाई हिन्दुकै घरभित्र ल्याएर काटिनु ज्यादै निन्दनीय कार्य भएको प्रतिक्रिया दिनु भयो । उहाँले भन्नुभयो ‘यस्ता गतिविधिमार्फत धर्ममाथि नै प्रहार गर्ने अरु पक्षको पनि यसमा संलग्नता होला भन्ने लागेको छ ।’
गौहत्या विरुद्ध गौं बंश संरक्षणका केन्द्रीय अध्यक्ष एवं गोलोक गोवर्धन गौशाला सताक्षीधामका संरक्षक नन्दकिशोर भारद्वाज महाराजको अगुवाईमा गौहत्या स्थलमा विरोध प्रदर्शन भयो । भारद्वाजको अगुवाईको समूहले यस्ता कार्य रोक्न सरकारले पहल गर्न र दोषीमाथि कडा कारबाही गर्न माग राख्दै प्रदर्शनसहित चक्काजाम गर्यो ।
घटनामा संलग्न भएको आरोपमा बाह्रदशी -४ ठेगाना भएका गाई काटिएको सोही घरमा डेरा बस्ने ४० वर्षीय बुदना आलमलगायतलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
https://youtu.be/siivOsU1qdE?si=mgNnWZPjdAe8riua

Share: