दमक, मंसिर १९
दमक जेसीजले आफ्नो सप्ताहव्यापी कार्यक्रम सुरु गरेको छ । जेसीज सप्ताहको उद्घाटनका क्रममा बुधबार जेसीज धाराको अनावरण र अटिजम सम्बन्धिको जनचेतनामुलक कार्यक्रम सञ्चालन गरिएको छ ।
कोशी प्रदेश सांसद होमबहादुर थापाले जेसीज भवनमा जडान भएको धाराको अनावरण गर्दै जेसीजको सामाजिक कामको प्रशंसा गर्नुभयो ।
दमक जेसीज अध्यक्ष रामचन्द्र अधिकारीको अध्यक्षताको कार्यक्रममा जेसीज सप्ताह मुल आयोजक समिति संयोजक उमेश गजमेरले नेतृत्व र व्यक्तित्व विकाससँगै जेसीजले समाजका लागि आवश्यक सामाजिक काम समेत गर्दै आएको प्रसंग उल्लेख गर्नुभयो ।
सप्ताह अन्तर्गत भोलि बिहीबार दमक १ मा रहेको प्रजिता एकेडेमीभित्र रहेको फूटसल मैदानमा मैत्रीपूणर् फुटसल प्रतियोगिता दमक र २ मा रहेको सरस्वती आधारभूत विद्यालयमा शैक्षिक सामग्री वितरण कार्यक्रम हुने छ ।
सोही दिन विद्यार्थीहरुलाई बाल स्वास्थ्य सम्बन्धीको सचेतनामूलक कार्यक्रम दमक २ कै हिमालय माद्यमिक विद्यालयमा आयोजना गरिने छ । २१ गते दमक बसपार्कमा सडक दुर्घटना न्यूनीकरण सम्बन्धीको सचेतना कार्यक्रम, युवाहरुमा नेतृत्व विकास सम्बन्धीको तालिम रहेको छ । अन्तिम दिन २३ गते लैंगिक हिंसा विरुद्धको अभिमुखीकरण कार्यक्रम, जेसीज सदस्यहरुलाई बीमा योजना हस्तान्तरण गर्दैै सप्ताह समापन गरिने कार्यक्रम छ ।
उता, मोरङको पथरी जेसीजले पनि सप्ताह कार्यक्रम यसैबेला सञ्चालन गरिरहेको छ ।
पथरी जेसीजका वर्ष २०१५ का अध्यक्ष तथा जेसीजको इतिहास सहितका ऐतिहासिक ११ वटा कृतिका लेखक दीपेन्द्रराज तिम्सिनालाई सम्मान, गजल मेहफिल सञ्चालनसहित सप्ताह कार्यक्रम अघि बढेको छ । कार्यक्रममा कोशी प्रदेश सांसद गीता तिम्सिनाले पथरी जेसीजको सक्रियता तथा योगदानको चर्चा गर्नुभयो ।