सोलुखुम्बु, मंसिर २०
सुख्खायामको यो समयमा पनि पहिरो गइरहँदा सोलुखुम्बुस्थित सोलुदुधकुण्ड नगरपालिका ११ तिङ्लाको सारेलुकीचौर बस्ती जोखिममा परेको छ ।
सोलुखोलाको माथिल्लो भागबाट सुरु भएको करिब पाँच सय मिटर लामो पहिरो बस्तीतर्फ सर्दै गएपछि त्रास फैलिएको स्थानीय चित्रकुमारी कार्कीले जनाउनु भयो । उहाँले जलविद्युत् आयोजना निर्माणका क्रममा निस्किएको माटो अनियन्त्रित रूपमा थुपारिँदा पहिरोको जोखिम थप बढेको जनाउँदै पहिरो रोक्ने पहल गर्न सम्बन्धित पक्षसँग अनुरोध गर्नुभयो ।
सोलुदुधकुण्ड नगरपालिका-११ का अध्यक्ष टङ्कबहादुर कार्कीले पहिरो विस्तार हुँदै गएका कारण एक सयभन्दा बढी घर जोखिममा परेको जानकारी गराउनु भयो
करिब ३० वर्षअघि सामान्य रहेको पहिरो यही मङ्सिर १२ गतेपछि करिब पाँच सय मिटर फैलिएर नजिकै रहेको उतिसको जङ्गलसहित गोरेटो बाटोसमेत कटान गरिसकेको छ । त्यसभन्दा माथि रहेको खेतीयोग्य जमिन चिराचिरा भएको छ । पहिरो बस्ती नजिकको सडकछेउ पुगिसकेको छ ।
प्रमुख जिल्ला अधिकारी अनोजकुमार घिमिरेले पहिरो क्षेत्रको वस्तुस्थिति आँकलन गर्न जिल्ला सुरक्षा समितिको टोलीले पहिरोग्रस्त क्षेत्रको निरीक्षण गरेको बताउनु भयो ।