"दुई करोड रुपैयाँ सहयोग"

अस्पताल बनाउन साढे दुई करोड दान

काठमाडौँ — चिकित्सक शारदाराम भण्डारीले बाल अस्पताल र उपचारात्मक सेवा दिन नमिल्ने बिरामीहरूलाई दिइने आश्रय स्थल (हसपिस) भवन निर्माणका लागि साढे दुई करोड रुपैयाँ सहयोग गरेका छन् ।

काठमाडौंको डिल्लीबजारका भण्डारीले वरिष्ठ मुटुरोग विशेषज्ञ डा. भगवान कोइरालाको नेतृत्वमा बुढानीलकण्ठमा बन्दै गरेको काठमाडौं इन्स्टिट्युट अफ चाइल्ड हेल्थ अस्पतालका लागि डेढ करोड रुपैयाँ र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति राजेशनाथ गंगोलको अग्रसरतामा निर्माणाधीन हसपिसलाई एक करोड रुपैयाँ सहयोग गरेका हुन् ।

हाल अमेरिकामा बसोबास गर्ने भण्डारीले बाल अस्पताललाई ५० लाख रुपैयाँ र हसपिसलाई २५ लाख रुपैयाँ नगद हस्तान्तरण गरिसकेका छन् भने बाँकी रकम किस्ताबन्दीमा सहयोग गर्दै जाने सम्झौता भएको छ । अस्पताल र हसपिस दुवैको भवन निर्माणाधीन अवस्थामा रहेकाले किस्ताकिस्तामा रकम प्रदान गर्ने सम्झौता भएको हो । भण्डारीले आमा गृह्य र बाबु लक्ष्मीराम भण्डारीको नाममा सहयोग गरेका हुन् ।

चिकित्सकसहित केही सामाजिक अगुवाको अग्रसरतामा काठमाडौंको बुढानीलकण्ठ र ललितपुरको धापाखेलमा हसपिस निर्माणाधीन छ । व्यक्तिगत रूपमा अस्पताल बनाउन यति ठूलो सहयोग पहिलो पटक प्राप्त भएको डा. कोइरालाले बताए । २१ वर्षदेखि लगनखेलको महालक्ष्मीस्थानमा सञ्चालित हसपिस धापाखेलमा हस्तान्तरण गर्न लागिएको छ ।

यी दुवै गैरनाफामूलक उद्देश्यले स्थापित संस्था हुन् । ‘लगनखेलमा सानो युनिटमा हसपिस चलाउँदै आएका थियौं, त्यसलाई नेपालभरि नै विस्तार गर्नुपर्छ भनेर धापाखेलमा तालिम केन्द्रसहितको संरचना बनाउँदै छौं,’ गंगोलले भने । त्यहाँ जग्गा खरिद गरिसकिएको छ । ‘सरकारले सहयोग नगरे पनि विभिन्न व्यक्तिले सहयोग गर्नुभएको छ, त्यहीक्रममा एक करोड रुपैयाँ सहयोग जुटेको हो,’ उनले भने ।

 

Share: