बिरामी उक्त मतभेदको सिकार

डाक्टरबीच मतभेद हुँदा ८ घण्टा लगाई शल्यक्रिया

विजयपुर । विदेशी दातृसंस्थाले निःशुल्क दिएको सामग्री ‘प्रयोग गर्ने-नगर्ने’ विषयमा चिकित्सकहरूबीच मतभेद हुँदा त्यसको प्रत्यक्ष मार बिरामीले खेपेका छन् ।
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको हाडजोर्नी विभागमा उपचारका लागि आउने बिरामी उक्त मतभेदको सिकार बनेका छन् । सन् २००५ देखि अमेरिकास्थित साइन नामक संस्थाले विपन्न देशका बिरामीलाई खुट्टाको लामो हड्डी जोड्ने रड (नेल) निःशुल्क रूपमा उपलब्ध गराउँदै आएको छ ।

सोही रड प्रयोग गर्ने-नगर्ने भन्ने विषयमा चिकित्सकबीच मतभेद हुँदा एक बिरामी ‘८ घण्टा शल्यक्रिया कक्ष’ मा थुनिनु परेको हो । सामान्यतः शल्यक्रिया ३ घण्टामा सकिन्छ ।

तर, पुस १७ गते सिरहा कल्याणपुर नगरपालिका-११ का ललितकुमार साह मोटरसाइकल दुर्घटनामा परी खुट्टा भाँच्चिएपछि रड लगाउनुपर्ने अवस्था आएको थियो । उनलाई प्रतिष्ठानका कन्सल्टेन्ट अर्थोपेडिक सर्जन तथा एसोसिएट प्रोफेसर डा.रोशन कलवारको टिमले सोमबार शल्यक्रिया गर्ने मिति तय गरेको थियो ।

खुट्टामा कुन रड लगाउने भन्ने मतभेदले ३ दिनपछि बिहीबार मात्रै शल्यक्रिया भयो । डा. रोशनसँग असिस्टेन्ट प्रोफेसर डा. अमितविक्रम साह र डा. अमित लिम्बूबीच विवाद हुँदा एउटै बिरामीलाई २ पटक शल्यक्रिया गरिदिएको बिरामी ललितकुमार साहले बताए । सुरुमा डा. रोशनले निःशुल्क रड लगाइदिएका थिए भने अन्य चिकित्सकले उक्त रड लगाउन बीपीमा अनुमति नभएको भन्दै पुनः शल्यक्रिया गरेको उनले बताए ।

उनले भने, ‘चिकित्सकको विवादका कारणले धेरै दुःख पाएँ । २ पटक शल्यक्रिया गर्दा घाउ ठूलो भई अत्यधिक मात्रामा रगत बग्यो ।’ शल्यक्रियाको समयमा नै चिकित्सकहबीच मतभेद भइरहेको थाहा पाएपछि आफूले ‘विवाद नगर्नू’ भन्दा लट्याउने सुई लगाइदिएपश्चात् आफूले थाहा नपाएको बताए ।

बिरामीका बुबा रामकृष्ण साहले चिकित्सकको विवादले २ पटक शल्यक्रिया गर्नुपर्दा बिरामी थप समस्यामा परेको बताए । २ पटक शल्यक्रिया गर्दा लागेको खर्च पनि सम्बन्धित चिकित्सकले बेहोर्नु पर्ने उनले बताए ।

डा. रोशनविक्रम साह र डा. रोशन लिम्बूले हाडजोर्नी विभागले उक्त रड प्रयोग गर्न बन्देज गरेकाले ‘नहालौं’ भन्दा विवाद उत्पन्न भएको स्वीकारे । डा. कलवारले उक्त रड प्रयोग गरेबापत बिरामीसँग पैसा असुलेको पुष्टि भएपछि विभागले उक्त रड प्रयोग गर्न रोकेको डा. रोसनविक्रमले बताए ।
उनले भने, ‘रड लगाउनका लागि १ घण्टादेखि अप्रेसनमा लाग्ने सामान (इन्स्टुमेन्ट) को निर्मलीकरण गर्नुपर्छ । सोहीअनुसार ग्रिन्ज कम्पनीको रड प्रयोग गर्न निर्मलीकरण गरिएको थियो । त्यो कम्पनी छाडेर साइन कम्पनीको रड लगाएपछि हामीले गर्न नमानेको हो ।’ डा. रोशनले शल्यक्रिया गरिसकेपछि हेर्दा रड हड्डीबाहिर गएकाले उक्त रड निकाल्नु परेको बताए ।

यता डा. रोशन पनि हड्डीबाहिर रड गएको स्वीकार गर्दै भन्छन्, ‘९० प्रतिशत अप्रेसन सकिएको थियो । अन्त्यमा हेर्न बाँकी थियो । तर, विवाद झिकेपछि आफूले छोडेको हो ।’ यता रोशनकै समूहका अन्यले चाहिँ डा. रोशनले गल्ती गरेपश्चात् छाडेको दाबी गर्छन् ।

विवादको मुख्य जड अमेरिकी सहयोगको रड भए पनि जुनियरहरूले आफूलाई नपत्याएकाले विवाद सिर्जना भएको दाबी गर्छन् । उनले भने, ‘जुनियरहरूले मेरो कुरा मान्दैनन् । दादागिरी देखाउँछन् ।’ विभागले प्रयोग गर्न बन्देज गरेको रड नै किन प्रयोग गर्नुपर्ने भन्ने जिज्ञासामा डा. रोशन आफूले बिरामीको हितमा प्रयोग गरेको दाबी गरे ।

रडको गुणस्तरप्रति शङ्का नगर्न चिकित्सकहरूले सुझाव दिएका छन् । डा. कलवारले प्रयोग गर्दै आएको रड पनि गुणस्तरहीन नभएको हाडजोर्नी विभागका अन्य चिकित्सक बताउँछन् । कलवार भन्छन्, ‘विभागले प्रयोग नगर भन्ने अधिकार छैन । यदि प्रक्रियागत रूपमा प्रयोग नगर्न आदेश आए गर्दिनँ । यो गुण्डागर्दी शैलीमा निषेध गरेको मान्दिनँ ।’

यता हाडजोर्नी विभागमा कार्यरत नर्स सरिना गुरुङले बिहीबार ललितकुमार साहको अप्रेसनमा स्ट्याण्डर कम्पनीको रड अप्रेसन लिस्टमा रहेको तर, डा. कलवारले अन्त्यमा साइनको रड लगाएपछि विवाद उत्पन्न भएको बताइन् । उनले भनिन्, ‘अप्रेसनका लागि अघिल्लै दिन कुन साधन लाग्ने हो । हामीलाई लिस्ट आउँछ । हामीले त्यहीअनुसार तयारी गर्छौं । बिहीबार पनि स्ट्याण्डर कम्पनीको तयारी गरिएको थियो । तर, डा. कलवारले स्ट्याण्डरको सामग्रीमा साइन कम्पनीको रड लगाउनुभयो ।’

हाडजोर्नी विभागका प्रमुख डा. विक्रम श्रेष्ठ भने विवादको विषयमा प्रहरी प्रशासनमा उजुरी परेकाले बोल्न चाहेनन् । प्रतिष्ठानका अस्पताल निर्देशक गौरीशङ्कर साहले विभागका सबै चिकित्सकका विषयमा छानबिन हुने बताए । उनले भने, ‘डा. रोशन कलवार र विक्रम श्रेष्ठबीच के छ, मलाई थाहा छैन ?’ उनले विवादका विषयमा १० दिनभित्र निष्कर्ष निकाल्ने बताए ।

उनले अमेरिकाबाट आएको रड डा. कलवारले विभागलाई जिम्मा लगाउने र प्रयोग गर्ने निणर्य भएको बताए । उनले हाडजोर्नी विभागका चिकित्सकले मेडिकल आचार-संहिताभन्दा बाहिर गएर काम गरेको बताए । उनले भने, ‘उच्चस्तरीय छानबिन समिति बन्छ । भित्रको मान्छे हुँदैन । छानबिनले दोषी देखिए कारबाही हुन्छ ।’

 

चिकित्सकविरुद्ध उजुरी

प्रतिष्ठानका हाडजोर्नी विभागका ३ चिकित्सकविरुद्ध उजुरी परेको छ ।
सोमबार ललितकुमार साहका बुबा रामकृष्ण साहले इलाका प्रहरी कार्यालय धरानमा उजुरी दिएका हुन् । उनले प्रतिष्ठानको हाडजोर्नी विभागका डा. रोशनप्रसाद साह कलवार, डा. अमितविक्रम साह, डा. अमित लिम्बूसहित संलग्न समूहविरुद्ध उजुरी दिएका हुन् ।

उजुरीमा कमिसनको खेलमा चिकित्सकहरूबीच विवाद हुँदा बिरामीको अप्रेसन र उपचारमा गम्भीर असर परेको भन्दै उजुरी दिइएको उल्लेख छ । साहले डाक्टरहरूको लापरबाहीले बिरामीको ज्यानमा गम्भीर असर पर्न गएकाले पक्राउ गरी ज्यान मार्ने उद्योगअन्तर्गत कारबाही गर्न माग गरेका छन् ।

उजुरीमा पुस १७ गते प्रतिष्ठानमा उपचारका लागि आएको बिरामी मेरो छोरा ललितकुमार साहलाई शल्यक्रियाका लागि बिहान साढे ८ मा बजे लगी बेलुकाको ५ बजेसम्म समय लागेको उल्लेख छ । त्यति लामो समय चिकित्सकको विवादका कारणले भएको जनाइएको छ । उजुरीमा २ पटक अप्रेसन गर्दा बिरामीलाई गम्भीर असर परेको उल्लेख छ ।

साथै अत्यधिक रगत बगी बिरामीको ज्यान खतरामा परेकाले पक्राउ गरी ज्यान मार्ने उद्योगमा कारबाही गर्न माग गरिएको छ । इलाका प्रहरी कार्यालय धरानका इन्स्पेक्टर हेमराज ओलीले बिरामीका आफन्तले निवेदन दिएको र बोलाई बयान लिएको बताए । उनले बिरामीका आफन्तहरू तत्काल बिरामी उपचारमा जान्छौं भनेर गएको बताए । उनले भने, ‘अस्पतालको कुरामा भनेर एकपटक विभागीय प्रमुखसँग छलफल गर्नु भनेको छौँ । कानूनसम्मत जाहेरी आएमा प्रक्रिया अघि बढाउँछौं ।’

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

धार्मिक र सांस्कृतिक महत्वका साथ देशभर साउने सङ्क्रान्तिको रौनक

काठमाडौं,१ साउन । सौरमासअनुसार प्रत्येक वर्ष साउन १ गते मनाइने साउने (कर्कट) सङ्क्रान्ति आज देशभर स्नान, दान, पूजा–आराधना तथा लुतो फाल्ने परम्परासहित मनाइँदैछ । साउने

नयाँ करार नियुक्तिमा रोक, ’पुल’मा रहेका कर्मचारीबाटै व्यवस्थापन गरिने

काठमान्डौं ,१ साउन। सरकारले अब रिक्त वा नयाँ स्थापना भएका सरकारी निकायहरूमा नयाँ व्यक्तिलाई करार सेवामा नियुक्त नगर्ने भएको छ। सङ्घीय मामिला तथा सामान्य प्रशासन

दमकमा पूँजिगत भन्दा चालु खर्च धेरै, खर्चको विवरणले यस्तो देखायो दमकको चित्र

दमक,१ साउन । दमक नगरपालिकाको आर्थिक वर्ष २०८२÷८३ को खर्च विवरणले विकास निर्माणभन्दा प्रशासनिक तथा चालु खर्चले प्राथमिकता पाएको देखिएको छ । तथ्यांकअनुसार नगरपालिकाले पूँजीगत

दमक नगरपालिकाको सेवा प्रवाहबारे नागरिकको प्रतिकृया कस्तो ? यी कुरामा सुधार गर्नु पर्ने देखियो नागरिक रिपोर्ट

दमक, १ साउन ।स्थानीय सरकारप्रति नागरिकको विश्वास बढ्दै गएको संकेत दमक नगरपालिकामा गरिएको नागरिक प्रतिवेदन (सिटिजन रिपोर्ट कार्ड) ले देखाएको छ। नगरपालिकाबाट सेवा लिने अधिकांश

मिटरब्याज पीडित र सरकारबीच आजै लिखित सम्झौताको तयारी, सिंहदरबारमा निर्णायक वार्ता जारी

काठमाडौँ, १ साउन । आन्दोलनरत मिटरब्याज पीडित पक्ष र सरकारी वार्ता टोलीबीच आजै औपचारिक सम्झौता पत्रमा हस्ताक्षर गर्ने तयारी तीव्र पारिएको छ। यसअघि दुवै पक्षबीच

देशका तीन राजमार्ग अझै पूर्णरुपमा अवरुद्ध

काठमाडौं,१ साउन । लगातारको वर्षापछि आएको पहिरो र प्रतिकूल मौसमका कारण देशका विभिन्न राजमार्ग प्रभावित भएका छन्। नेपाल प्रहरीले शुक्रबार बिहान करिब ७ बजेसम्मको विवरण