दमक, पुस १४
पातञ्जल योग दमक नगर समितिको चौथो साधारणसभा तथा वनभोज कार्यक्रम सम्पन्न भएको छ ।
मोरङको बेतना सिमसारमा सम्पन्न भएको कार्यक्रममा सस्थाका निवर्तमान अध्यक्ष अम्बर बहादुर बस्नेतले वार्षिक प्रतिवेदन सार्वजनिक गर्नु भएको थियो ।
योगमार्फत समाज रुपान्तरणमा पुर्याएको योगदान र त्यस अभियान कसरी सञ्चालन भइरहेको छ भन्नेबारेको प्रतिवेदन उहाँले सार्वजनिक गर्नु भएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि रहनु भएका पातञ्जल योग समितिका केन्द्रीय उपाध्यक्ष केशव ताम्राकारले झापामा योगको अभियान चलाउनेमा दमक नगर समितिनै अब्बल रहेको भन्दै प्रशंसा गर्नु भएको थियो । नेतृत्व परिवर्तन सहितको यो अधिवेशनबाट आउने नयाँ टिमले दमकको यो गरिमालाई कायम राख्दै यसलाई अझ बढाउन उहाँले शुभकामना व्यक्त गर्नु भएको थियो ।
साधारणसभाले नयाँ नेतृत्व पनि चयन गरेको छ । जसमा नवीन पाठकको अध्यक्षतामा १३ सदस्य नयाँ कार्य समिति बनाएको छ । जसको उपाध्यक्षमा प्रतिमा सेवा लिम्बु, सचिवमा भरत चम्लागाईं तथा हालकालागि सहसचिव खाली राखिएको छ । कोषाध्यक्षमा सविना राना चयन भएसँगै सदस्यहरुमा हिमा पोखरेल, निर्मला पौडेल, दिब्या रिमाल, शीला कार्की, डिल्ली ढकाल र मञ्जु पराजुली चयन हुनु भएको छ ।
निर्वाचित अध्यक्ष भएर सपथ ग्रहण गरिसकेपछि बोल्दै अध्यक्ष पाठकले भन्नु भयो ‘विश्वास गरेर दिइएको जिम्मेवारीको उचित कदर गर्नेछु । सबैको सुझाव र सल्लाहका आधारमा योग अभियानलाई दमकभरी फैलाउने काममा लाग्ने छु ।’
पातञ्जल योग समिति दमकले यहाँ बिभिन्न ७ ठाउँमा साधना केन्द्र मार्फत योगको कार्यक्रम सञ्चालन गर्दैै आएको छ भने विभिन्न विद्यालय तथा अन्य संस्थाहरुसँग समेत सहकार्य गरेर सबै उमेर समूहलाई योगमा सहभागी गराउने काम गरिरहेको छ ।