दमक, माघ १
देशभर आज थारू समुदायका साथै अन्य समुदायले पनि माघे सङ्क्रान्ति पर्व मनाउँदै छन् । माघ १ गतेबाट सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गरेको दिनलाई आज देश विदेशमा रहेका नेपालीहरुले मकर (माघे) सङ्क्रान्ति पर्वका रुपमा मनाएका छन् ।
माघ १ बाट सूर्य उत्तरायण सुरु हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जाने र जाडो हट्दै जानेछ । उत्तरायण सुरु हुने दिनको स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई पुण्यदायक मानिन्छ । आजकोा दिन विहान झापाको कनकाई माई, देवघाट, त्रिशूली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, त्रिवेणी, रिडीलगायत स्थानमा माघ स्नान गर्ने भक्तजनको घुइँचो लागेको छ । यी ठाउँमा विशेष मेलासमेत लागेको छ । भक्तपुरको तिलमाधव नारायणस्थानमा पनि मेला लागेको छ ।
माघे सङ्क्रान्तिका दिन घ्यू, चाकु, तिलका परिकार, खिचडी नखाने, दान नगर्ने, जलाशयमा गई स्नान नगर्ने, ध्यान नगर्ने व्यक्ति जीवनभर रोगी हुने धर्मसिन्धुमा उल्लेख गरिएको धर्मशास्त्रविद् प्रा डा देवमणि भट्टराईले उल्लेख गर्नुभयो ।
तराईवासीले माघ १ लाई नहान अर्थात् नुहाउने पर्वका रूपमा मनाउँछन् । तराईवासीले आज अनिवार्य नुहाउनुपर्ने मान्यता राख्छन् । बिहानै तीर्थस्थलमा गई स्नान गरेर तिल दान गर्नाले सुन दान गरेसरहको पुण्य प्राप्त हुने धार्मिक विश्वास छ । पश्चिम नेपालका विशेष गरी थारु समुदायले माघी पर्व मनाउने प्रचलन छ ।
यी परिकारले जाडोमा न्यानो प्रदान गर्ने भएकाले चिसो समयमा पर्ने पर्वमा ताता परिकार खाने गरिएको हो । आजका दिन शरीरमा तिलको तेलले मालिस गर्दा दुषित पदार्थ बाहिर निस्कन्छ भन्ने विश्वास रहेको छ । शरीरका नाडी, स्नायुमण्डल र हड्डीलाई तिलको तेल मालिसबाट सुदृढ र स्वस्थ राख्न सकिने आयुर्वेद शास्त्रीय मान्यता छ ।
सूर्य उत्तरायण भएपछिको मृत्युलाई उत्तम मानिन्छ । महाभारत युद्धमा मृत्यु श्ययामा पुगेका भीष्मले इच्छा मृत्युको वरदान पाएअनुसार सूर्य उत्तरायणपछि शरीर त्याग्नु भएको धर्म शास्त्रमा उल्लेख छ ।
मकर संक्रान्तिका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलसहितले शुभकामना सन्देश दिँदै यस पर्वले एकतामा मद्धत पुर्याउने विश्वास व्यक्त गर्नुभएको छ ।