दमक, माघ १
देशभर सहकारी ठगीका घटना भइरहेको अवस्थामा झापामा ३ वटा सहकारी संस्थाका ४० जनामाथि सहकारी ठगीको उजुरी परेको छ ।
करिव ३ करोड रकम ठगी गरेको आरोपमा तीनवटा सहकारी संस्थाका ४० जनामाथि उजुरी परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी कृष्णकुमार चन्दले बताउनु भयो । उजुरी परेकामध्ये ६ जना पक्राउ परेको र अन्य फरार रहेको पनि उहाँले जनाउनु भयो ।
बचतकर्ताहरुको २ करोड ४ लाख ४८ हजार ७२४ रुपैयाँ हिनामिना गरेको आरोपमा जयपुर बहुउद्देश्यीय सहकारी संस्था बुद्धशान्तिका १७ जनामाथि उजुरी परेको थियो । त्यसमध्ये ३ जना पक्राउ परेका छन् ।
त्यस्तै निक्षेपकर्ताहरुको ६० लाख २ हजार ८०२ रुपैयाँ हिनामिना गर्ने शुभसाइत सहकारी संस्था भद्रपुरका ७ जना संचालकमाथि उजुरी परेको थियो । तीमध्ये ३ जना पक्राउ परेका छन् । त्यस्तै उन्नति बचत तथा ऋण सहकारी संस्था शिवसताक्षीका १६ जना संचालकमाथि उजुरी परेको छ । ३५ लाख ८ हजार ५५१ रुपैयाँ अपचलन गरेको आरोपमा उनीहरुमाथि उजुरी परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
झापाका अन्य सहकारीमा पनि ठगी भएको पाइएपनि उजुरी पर्न सकेको छैन । उजुरी नपर्दा प्रहरीले कार्वाही गर्न नसकेको प्रवक्ता चन्दले उल्लेख गर्नुभयो ।
सहकारीहरुले निक्षेप फिर्ता नदिएको भनेर इलाका प्रहरी कार्यालय दमकमा गुनासो लिएर निक्षेपकर्ताहरु आउने गरेको र सम्बन्धित सहकारी संस्थालाई निक्षेप फिर्ता गर्नु भन्ने गरिएको डीएसपी निशान थापाले जानकारी दिनुभयो ।