नेपाल एकीकरणदेखिका ऐतिहासिक हातहतियार प्रदर्शनीमा

काठमाडौ, माघ ९
भूकम्पपछि स्टोरमा थन्क्याइएका ऐतिहासिक हातहतियार सर्वसाधारणका लागि पुनः प्रदर्शनमा राखिएको छ । छाउनीस्थित राष्ट्रिय संग्रहालयले ऐतिहासिक भवनको पहिलो तलामा वि.सं. १६१६ देखि यता राणाकालसम्मका पुराना हातहतियार २७ पुसदेखि प्रदर्शनमा राखेको हो ।

 

संग्रहालयमा साना–ठुला गरी १० हजारभन्दा धेरै हातहतियार छन्‌ । यहाँ नेपाल एकीकरणदेखि राजा–महाराजाका पालामा लडाइँ, युद्ध तथा आफ्नो सुरक्षाका लागि प्रयोग भएका हतियार छन्‌ । संग्रहालयमा पृथ्वीनारायण शाहले नेपाल एकीकरणको लडाइँका वेला प्रयोग गरेका हातहतियारसमेत सुरक्षित छन्‌ ।

 

संग्रहालयका अनुसार प्रदर्शन गरिएकामध्ये सबैभन्दा महत्वपूर्ण र पुरानो हतियार द्रव्य शाहले वि.सं. १६१६ देखि १६२७ सम्म प्रयोग गरेका खुकुरी, तरबार र खुँडालगायतका हुन्‌ । त्यस समयका १४ हतियार संग्रहालयमा छन्‌ । त्यस्तै, पृथ्वीनारायण शाहले वि.सं. १७७९ देखि १८३१ सम्म प्रयोग गरेका दुई दर्जनभन्दा बढी हतियार राखिएको छ ।

 

संग्रहालयका अनुसार नेपालको एकीकरणताका प्रयोग भएका विभिन्न आकार–प्रकारका धनु–वाण, खुँडा, ढाल, खड्ग, तरबारलगायत हातहतियार प्रदर्शनमा छन्‌ । सबैभन्दा महत्वपूर्ण संग्रहमध्ये पृथ्वीनारायण शाहले प्रयोग गरेका निजी हातहतियार हुन्‌ ।त्यस्तै, मल्लकालीन तथा शाहकालीन राजाहरू काजी, सरदार, भारदार र प्रधानमन्त्रीहरूले प्रयोग गरेका निजी हातहतियारसमेत सर्वसाधारणले हेर्न पाउने गरी राखिएको छ । यसले नेपालको इतिहास, युद्ध र एकीकरणबारे भावी पुस्तालाई जानकारी गराउने संग्रहालयका अधिकारीहरू बताउँछन्‌ ।

Share: