बिर्तामोड, माघ ९
झापाको बुद्धशान्तिमा माघ ११ देखि १९ गतेसम्म दोस्रो संस्करणको बर्खा स्मृति झापा जिल्ला अन्तरपालिका टी–२० पुरुष क्रिकेट प्रतियोगिता हुने भएको छ ।
बुद्धशान्ति–३ स्थित पेट्रोल पम्पछेउको खुला मैदानमा हुने प्रतियोगिताका लागि खेल मैदानको स्तरोन्नति सकिएको छ भने पिच निर्माणको काम पूरा भएको आयोजक बर्खा स्मृति प्रतिष्ठान बुद्धशान्तिका अध्यक्ष मदन प्रसाईंले जनाउनु भयो ।
दोस्रो संस्करणको प्रतियोगिताको उद्घाटन खेलमा भद्रपुर नगरपालिका र दमक नगरपालिका खेल्दै छन् । प्रतियोगितामा झापाका १५ वटै पालिका सहभागी रहेको अध्यक्ष प्रसाईंले जानकारी दिनु भयो ।
प्रतियोगिताको विजेताले नगद १ लाख ५० हजार, मेडल, ट्रफी, प्रमाणपत्र पाउनेछ भने उपविजेताले नगद ७५ हजार, मेडल, ट्रफी, प्रमाणपत्र पाउने अध्यक्ष प्रसाईंले बताउनु भयो ।
खेलको प्लेयर अफ द म्याचलाई ३ हजार, सेमिफाइनलको प्लेयर अफ द म्याचलाई ५ हजार र फाइनलको दिन ७ हजार तथा प्लेयर अफ द सिरिजलाई १३ हजार पुरस्कार दिइनेछ ।
खेलतालिका अनुसार प्रतियोगिताको दोस्रो दिन बिर्तामोड नगरपालिकाले कमल गाउँपालिकाको सामना गर्नेछ भने सोही दिन कनकाई नगरपालिकाले बाह्रदशी गाउँपालिकाविरुद्ध खेल्नेछ ।
त्यस्तै, माघ १३ गते शिवसताक्षी नगरपालिका र झापा गाउँपालिका तथा मेचीनगर नगरपालिका र हल्दिबारी गाउँपालिका भिड्ने छन् । माघ १४ गते बुद्धशान्ति गाउँपालिकाले गौरादह नगरपालिका र गौरीगञ्ज गाउँपालिकाले कचनकवल गाउँपालिकाको सामना गर्नेछन् । अर्जुनधारा नगरपालिकाले बाइ पाएको छ ।
यसअघि फागुन २ गतेदेखि १२ गतेसम्म भएको पहिलो संस्करणको प्रतियोगिताको उपाधि बिर्तामोड नगरपालिकाले जितेको थियो ।
यसैबीच, प्रतियोगिताको दौरान भारतीय महिला टिम र नेपाली महिला टिमबीच दुई खेल हुने आयोजकले जनाएको छ ।