काठमाडौँ, माघ १०
नेकपा एमालेले विधान संशोधन गरेर नेता वामदेव गौतमलाई पार्टीमा फर्काउनेसहित पार्टी केन्द्रीय सचिवालयमा केही पद थप्ने गृहकार्य थालेको छ ।
११औं राष्ट्रिय महाधिवेशन अघि गर्नुपर्ने विधान महाधिवेशन राष्ट्रिय महाधिवेशनको झण्डै १५ महिनाअघि नै बोलाएर पार्टी संगठनलाई चुस्त बनाउने प्रयास थालेको उल्लेख छ । एमाले विभाजनपछि एमाले र नेकपा एकीकृत समाजवादीमा समेत नलागी पार्टी एकता अभियान संचालन गरेका पूर्वउपाध्यक्ष समेत रहनु भएका नेता वामदेव गौतमले पुनः नेकपा एमालेमै फर्कने चाहना प्रकट गरिरहेपछि अध्यक्ष ओलीसहितले गौतमलाई समेट्ने चाहना राखेका छन् । ११ औँ राष्ट्रिय महाधिवेशन, मिसन २०८४ र वामदेव गौतमलाई पार्टीमा भित्र्याउने लगायतका विषयलाई समेत मध्यनजर गर्दै विधान महाधिवेशन गर्न लागेको जनाइएको छ ।
गौतमलाई पार्टीमा ल्याएपछि सोही अनुसारको जिम्मेवारी र पोर्टफोलियो पनि आवश्यक पर्ने भएकाले विधान संसोधनमा सो विषय पनि समेटिने भएकाको उल्लेख छ । गौतमलाई पद व्यवस्थापन नगरी पार्टीमा ल्याउँदा नेता भीम रावल बाहिरिए जस्तै अवस्था आउन सक्नेतर्फ पनि एमाले नेताहरूबिच छलफल भएको बुझिएको छ ।
नेकपा एमालेको सचिवालयमा हाल अध्यक्ष १, वरिष्ठ उपाध्यक्ष १, उपाध्यक्ष ६, महासचिव १, उपमहासचिव ३ र सचिव ७ गरी १९ जनाको पद छ । १९ मध्य एक जना सचिव टोपबहादुर रायमाझी भुटानी शरणार्थी प्रकरणमा निलम्बनमा परेको तथा उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनपछि सो स्थानमा गुरुप्रसाद बराल मनोनित हुनु भएको छ ।