दमक, माघ १३
झापाको दमक ५ का समाजसेवीहरुको संस्था ‘उज्यालो दमक’ले समाजमा आवश्यक पर्ने सहयोगकालागि आफ्नो कार्यक्रम अघि बढाएको छ ।
केही समय अघि गठन भएको ‘उज्यालो दमक’ ले सो वडामा आर्थिक कठिनाई तथा शारीरिक दुर्बलता भएको धनमाया धिमालको परिवारलाई आइतबार न्यानो कपडा वितरण गरेको छ ।
संस्थाका अध्यक्ष राजेन्द्र ढकाल, उपाध्यक्ष गीता निरौला, सचिव गम्भीरा दाहालसहितको टोलीले धिमालको घरमा पुगेर दुई जोडी सिरक डसना, झुल, तन्ना, सिरानीसहितका सामग्री वितरण गरेको हो । राहत सहयोग पाएपछि असक्त अवस्थामा रहनु भएकी धनमायाले खुसी व्यक्त गर्नुभयो ।
यसक्रममा धिमाल परिवारलाई संस्थाकी सदस्य तथा दमक खानेपानी उपभोक्ता तथा सरसफाई समूहकी सदस्य पार्वता ढकालमार्फत निःशुल्क खानेपानीको धारा जडानको प्रक्रिया समेत अघि बढाइएको छ ।