विराटनगर, माघ २२
कोशी प्रदेश सरकार उद्योग, कृषि तथा सहकारी मन्त्रालयले स्वीस सरकारद्वारा सञ्चालित नेपालकृषि बजार विकास कार्यक्रम (सहज) सँगको सहकार्यमा झण्डै ४५ लाख रुपैयाँ खर्च गरेर पशुचौपायाको खुट्टामा घाउ हुँने ‘खोरेँत रोग नियन्त्रण रणनीति’ तयार पारेको छ ।
यद्यपि सो रणनीति प्रतिवेदन अझैसम्म सार्वजनिक गरिएको छैन । प्रदेश सरकारले आगामी तीन वर्षभित्रमा इलाम जिल्लालाई खोरेँत मुक्त पार्ने अभियान चलाएको छ । तत्कालीन उद्योग, कृषि तथा सहकारीमन्त्री रहेका रामकुमार खत्रीको पालामा यो अभियान अगाडि बढेको हो
। चालु आर्थिक वर्षदेखि नै खोरेँत मुक्त गर्न भन्दै १२ करोड रुपैयाँ बजेट प्रदेश सरकारले छुट्याएको छ । तीन वर्षको अवधिको कार्यक्रम र गतिविधिका लागि ५८ करोड ४० लाख ५० हजार, परियोजना व्यवस्थापन इकाईको लागि ४ करोड ६१ लाख ५६ हजार र आकस्मिक वा विविध लागत भनेर २ करोड ६५ लाख ८ हजार गरी कूल ६५ करोड ९४ लाख ९ हजार रुपैयाँ अनुमानित बजेट लाग्नसक्ने उल्लेख छ ।