सहकारी ठगी मुद्धामा रवि आज चितवन जिल्ला अदालतमा उपस्थित

दमक, माघ २३
पूर्वउपप्रधान तथा गृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने सहकारी ठगी मुद्धामा चितवन जिल्ला अदालतमा आफैं उपस्थित भएपछि बयानको प्रक्रिया अघि बढेको छ ।

 

बयानका लागि लामिछाने गएराति नै स्थलमार्ग हुँदै चितवन पुगेपछि आजबाट मुद्धामा बयानको क्रम अघि बढ्ने उल्लेख छ । लामिछानेको मुद्दा चितवन जिल्ला अदालतका न्यायाधीश दयाराम ढकालको २ नम्बर इजलासमा परेको छ ।

 

साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको रकम हिनामिनाको अभियोगमा जिल्ला सरकारी वकिलको कार्यालय चितवनले मंगलबार रविसहित १५ व्यक्ति र ६ वटा कम्पनीविरुद्ध अदालतमा पूरक अभियोग दायर गरेको थियो ।

 

साहारा सहकारी ठगीमा प्रकरणमा गत असोज ८ गते संस्थापक गीतेन्द्रबाबु (जीबी) राईलाई मुख्य अभियुक्त बनाउँदै १७ जनाविरुद्ध मुद्दा दायर गरिएको थियो ।
जिल्ला प्रहरी कार्यालय चितवनले तयार गरेको अनुसन्धान प्रतिवेदनमा सो सहकारीको ३८ करोड ९ लाख ७९ हजार रुपैयाँ हिनामिना गरको उल्लेख छ ।
सहकारीबाट गोर्खा मिडियासहित विभिन्न कम्पनीमा गएको रकमसहित ५६ करोड २२ लाख ५० हजार रुपैयाँ बिगो कायम गर्दै मुद्दा दायर गरिएको छ ।
लामिछाने कास्की, काठमाडौं र रूपन्देही जिल्ला अदालतबाट क्रमशः ६५ लाख, ५० लाख र १ करोड धरौटी बुझाएर छुटिसकेको अवस्था छ ।

 

Share: