दमक, माघ २३
जाडोयाममा कम्तिमा दुई पटक वर्षा हुँदा विशेषगरी सिंचाईको सुविधा नभएका हिमाली र पहाडी क्षेत्रका बालीनालीलाई राहत पुग्ने हुन्छ । अनि वन डढेलो तथा आगलागीको डर पनि कम हुन्थ्यो । तर यो वर्ष हालसम्म वर्षा नहुँदा दुबैखाले समस्या बढेको छ ।
जाडो याममा कम्तिमा ६० मिलिलिटर पानी पर्नुपर्नेमा औषतमा ५.५ मिलिलिटरमात्रै पानी परेको छ । कम पानी पर्दा एकातिर प्रदूषण स्तर बढेको छ, अर्कातिर मौसमी चक्र नै तलमाथि भएको छ । नेपालका हकमा सबैभन्दा ठूलो जोखिम चाहिँ वनडढेलो बन्दैछ ।
माघे झरीले भिजेर यतिखेर चिसो र ओसिलो रहनुपर्ने नेपालका वनजङ्गलमा डढेलो लाग्न थालेको छ । भोटेकोशी गाउँपालिकाको कोदारीमा लागेको आगो नियन्त्रणमा लिन प्रशासनले हेलिकप्टरकै सहायता लिनु परेको छ ।
अमेरिकाको राष्ट्रिय हवाई यातायात तथा अन्तरिक्ष प्रशासन (नासा)को स्रोत व्यवस्थापन प्रणालीका लागि अग्नि सूचना (फिर्म्स )का अनुसार यतिखेर नेपालका १०० भन्दा बढी स्थानमा आगो लागेको देखिएको छ ।
हिउँदे झरी र वनडढेलोसँग नेपालको हावापानी (जलवायु)को सोझो सम्बन्ध छ । नेपालमा एक वर्षमा मुख्यतः ग्रीष्मकालीन (समर) र शीतकालीन (विन्टर) गरी दुई प्रकारका हावापानी हुन्छन् ।