दमक, माघ २६
झापाको दमकमा विभिन्न क्षेत्रमा सक्रिय हिसावले कार्यक्रम अघि बढाउँदै आएको दमक ६ नम्बर वडा कार्यालयले वडाका ज्येष्ठ नागरिककालागि धार्मिक भ्रमणको कार्यक्रम आयोजना गरेको छ ।
वडाको ज्येष्ठ नागरिक सम्मान प्रतिष्ठानको संयोजनमा ७० वर्षसम्मका नागरिकलाई जिल्लाको शिवसताक्षीस्थित सतासीधाम क्षेत्रमा भ्रमण गराइएको हो ।
वडाध्यक्ष टेकबहादुर थापाले वडाले ज्येष्ठ नागरिककालागि वर्षको २ वटा कार्यक्रम राखेको सन्दर्भमा जानकारी गराउँदै भ्रमण कार्यक्रमका बारेमा प्रष्ट्याउनु भयो ।
सो अवसरमा ज्येष्ठ नागरिकलाई सतासीधामको दर्शन गरी आसपासको क्षेत्र अवलोकन गर्दै वनभोजसहितको कार्यक्रममा रमाउने अवसर प्राप्त गर्नुभयो । त्यहाँ महिला बर्गले संगीनी समेत खेल्नुभयो । नृत्य र हण्डीफोरसहितका मनोरञ्जनात्मक प्रस्तुति पनि भए । भ्रमणमा सहभागि पुण्यप्रसाद ढुंगानाले वनभोजसहितको धार्मिकस्थलको भ्रमणले सबैलाई खुसी तुल्याएको धारणा राख्नु भयो ।
कार्यक्रममा सहभागि ज्येष्ठ नागरिक सम्मान प्रतिष्ठान दमक ६ की अध्यक्ष राधादेवी ढुंगानाले कार्यक्रम प्रभावकारी लागेको विचार राख्दै ज्येष्ठहरुलाई संरक्षण गर्ने कडा कानुन निर्माण गर्नु आवश्यक रहेको समेत बताउनु भयो ।
ज्येष्ठ नागरिक सम्मान प्रतिष्ठान दमकका सल्लाहकार बुद्धिशेखर भट्टराईले यसखाले कार्यक्रमले ज्येष्ठ नागरिकको शारीरिक र मानसिक स्फूर्ति प्रदान भएको जनाउनु भयो । कार्यक्रममा वडाका १ सय जना ज्येष्ठहरुको सहभागिता रहेको थियो ।