ललितपुर, २७ माघ
पाथीभरा (मुक्कुमलुङ) क्षेत्रमा केबलकार निर्माणको विरोध गरिरहेको संघर्षरत सहजीकरण समिति र सरकारबीचको वार्ता बिना निष्कर्ष टुङ्गिएको छ ।
आइतबार दिउँसो काठमाडौं सिंहदरबारस्थित होटल बसेरामा बसेको वार्तामा मागको विषयमा सहमति कायम हुन नसक्दा वार्ता निचोडमा पुग्न नसकेको हो ।
वार्तामा आन्दोलनकारी समूहले सरकारी वार्ता समितिको ‘हैसियत’ नपुगेको भन्दै मन्त्रीस्तरको वार्ता टोली गठन गर्न माग गरेको थियोे । देखिएको विवाद समाधानका नेपाल सरकारको गृह मन्त्रालयका सहसचिव प्रेमप्रसाद भट्टराई नेतृत्वको टोलीसँग माघ २२ गते राति ६ बुँदे सहमति भएको तर सरकारले सो सहमतिअनुसार कार्यान्वयन नगरेको आन्दोलन पक्षले जनाएको छ ।
आन्दोलनरत पक्षले मन्त्री स्तरीय वार्ता समिति गठनको माग गरेको छ । आन्दोलनरत घटकहरूले मुक्कुमलुङको संरक्षण तथा केवलकारको खारेजी जस्ता विषयहरूको दिगो स्थायी समाधानका लागि मन्त्रीस्तरीय वार्ता टोली गठन गरी २७ गते मन्त्रिस्तरीय वार्ता टोलीसँग वार्तामा बस्ने बताउँदै आएका थिए । आन्दोलनरत पक्षले केबलकार स्टेसनमा १० दिन सम्म काम रोक्ने मौखिक सहमति भएपनि यसको इमानदार कार्यान्वयन नभएको दाबी समेत गरेको छ ।
‘नो केबलकार आन्दोलनको तर्फबाट सहजीकरण वार्ता टोलीमा सरु सिङ्गक, कियाचुबाट यासेली योङ्हाङ, किरात धर्म तथा साहित्य उत्थान संघबाट सूर्य विक्रम चेम्जोङ, राष्ट्रिय मुक्ति पार्टीबाट सन्तोष मेहेता, पहिचानवादी मोर्चाबाट खगेन्द्र माखिम, नागरिक उन्मुक्ति पार्टीबाट दिलकुमार लाओती, जसपाबाट आङकाजी शेर्पा, नेपाल जनमुक्ति पार्टीबाट राजकुमार नाल्वो, संलोरामबाट रन्धोज ताम्लिङ रहनु भएको थियो ।
केबुलकार खारेजी संयुक्त संघर्ष समिति र अन्तरदलीय संघर्ष समितिको चाँडै बैठक बसेर आन्दोलनको आगामी कार्यक्रमहरू सार्वजनिक गर्न सक्ने सम्भावना रहेको नेतृ सिंगकले जनाउनु भयो।
माघ ८ गते बटम स्टेसनका लागि डोजर चलाउन थालेपछि संगठित भएका आन्दोलनकारीमाथि माघ १२ गते बेलुकी सशस्त्र प्रहरीले कुटपिटसँगै गोली प्रहार गरेको थियो । शनिबार ताप्लेजुङमा दोहोरो झडप हुँदा सशस्त्र प्रहरीको गोली लागेर आन्दोलनकारीतर्फ सगुन लाओती, यम बहादुर सुक्वाबा लिम्बु मङ्गल लाओती, धर्मान पालुङ्वा, धोजनारायण साँवा, विशाल लिम्बु घाइते हुनु भएको थियो । तीमध्ये आन्दोलनकारी सगुन, यमबहादुर र धर्मानको स्वास्थ अवस्था गम्भीर भएर काठमाडौंको टिचिङ अस्पतालमा उपचार भरहेको आन्दोलनरत पक्षले जनाएको छ ।
सर्वाेच्च अदालतमा विचाराधीन रहेको मुद्दा भएपनि जबर्जस्ती केबुलकार निर्माणको परियोजना अगाडि बढाएको भन्दै अधिवक्ता शङ्कर लिम्बु सहितको कानुन व्यवसायीहरूले दायर गरेको मुद्दामाथि आजै पेसी बहस तोकिएपनि पूर्व न्यायाधीसको निधन भएको भइ मुद्दाका बहस नभएको जनाइएको छ ।
काठमाडौं माईतीघर मण्डलामा आन्दोलनरत पक्षका वार्ता सहजीकरणका सदस्यहरुले पत्रकारहरुसँग साक्षातकार गर्दै आजसम्ममा पनि मन्त्रीस्तरको वार्ता समिति सरकारले घोषणा नगरे माघ २८ गते पत्रकार सम्मेलन मार्फत नयाँ चरणको आन्दोलन घोषणा गर्ने मुक्कुमलुङ संरक्षण संघर्ष समितिले जनाएको छ ।
कार्यक्रममा संघर्ष समितिका नेताहरु पूर्व मन्त्री गोपाल किराती, खगेन्द्र माखिम, संविधानसभा सदस्य राजकुमार नाल्बो, सरु सिंगक, नेता आङकाजी शेर्पा लगायतका नेताहरुले आ–आफ्ना विचार राख्दै सरकारले मुक्कमुलुङमा केवलकार निर्माण खारेज गर्नु पर्ने बताउनु भयो ।









