भद्रपुर, फागुन ६
मोफसलकै प्रतिष्ठित र लोकप्रिय फुटबल प्रतियोगिता ‘सौर्य एअरलाइन्स ओम साई पाथीभरा हस्पिटल भद्रपुर झापा गोल्डकप’ ‘गम्भीर राई स्मृति संस्करण’ भोलि फागुन ७ गतेदेखि १६ गतेसम्म सञ्चालन हुनेछ ।
जसकालागि करिब २ महिना लगाएर मेची रंगशालालाई उत्कृष्ट र शानदार मैदान बनाइसकिएको छ । करिब २० हजार दर्शक बस्न मिल्नेगरी स्थायी पक्की तथा बाँसको अस्थायी प्यारापिट निर्माण गरिएको छ । प्रतियोगिताको तयारीस्वरुप स्वागत गेटहरु निर्माण गरि सम्पूर्ण तयारी सम्पन्न गरेको संस्थाका अध्यक्ष दिपेश ढकालले जनाउनु भयो ।
दोस्रो भद्रपुर झापा गोल्डकप प्रतियोगिताको उद्घाटन पूर्वउपप्रधान तथा गृहमन्त्री, राष्ट्रियसभा सदस्य कृष्णप्रसाद सिटौलाले गर्नुृहुनेछ ।
गोल्डकपमा घरेलु टोली भद्रपुर ब्लेजर्स सहित ‘ए’ डिभिजन क्लब चर्च ब्वाइज युनाइटेड, मछिन्द्र फुटबल क्लब, नेपाल पुलिस क्लब, न्यु रोड टिम, सशस्त्र प्रहरीको एपिएफ एफसी र झापा ११ एफसी सहभागी हुनेछन् । गोल्डकपमा तीन विदेशी टिम दार्जीलिङ पुलिस एफसी भारत, ट्रान्सपोर्ट युनाइटेड एफसी भुटान, काउर्न बाजार प्रगति संघ बंगलादेश सहित १० टिम सहभागी हुनेछन् ।
दोस्रो संस्करणको भद्रपुर झापा गोल्डकपको विजेताले नगद १३ लाख र उपविजेताले नगद ७ लाख रुपैयाँ प्राप्त गर्नेछ । गोल्डकप सम्पन्न गर्न एक करोड ७८ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ ।