कोशीलाई खेलकुदको हब बनाउने योजना, महिला भलिबलमा ८ टिम रहने

दमक, फागुन ६
नेपाल खेलकुद महासंघ कोशी प्रदेश कमिटीले प्रदेशलाई खेलकुदको हब बनाउने योजनामा काम अघि बढाइरहेको बताएको छ ।

 

महासंघका केन्द्रीय अध्यक्ष पर्शुराम बस्नेतको प्रमुख आतिथ्यतमा बुधबार “मुख्यमन्त्री कप राष्ट्रिय महिला भलिबल प्रतियोगिता २०८१” को सन्दर्भमा दमकमा आयोजित पत्रकार सम्मेलनमा सो कुरामा जोड दिइएको हो । कार्यक्रममा बोल्दै बस्नेतले खेलकुदका माध्यमबाट युवा वर्गलाई समेटेर सृजनशील र कर्मशील बनाउने योजनामा कोशी प्रदेशलाई खेलकुद गतिविधिमा अघि बढाउने काममा प्रदेश कमिटी लागिपरेको उल्लेख गर्नुभयो ।

 

महासंघ कोशीको आयोजनामा फागुन ११ देखि १६ गतेसम्म झापाको दमकमा हुने प्रतियोगिताका बारेमा कोशी अध्यक्ष राजकुमार थापाले जानकारी गराउनु भयो ।
प्रदेश खेलकुद विकास वोर्ड, कोशी प्रदेशको संयोजन र कोशी प्रदेश भलिबल संघको सहकार्यमा स्थानीय हिमालय माविमा रहेकोे प्रदेश भलिबल प्रशिक्षण केन्द्रमा हुने प्रतियोगितामा प्रदेशका भलिबल टिमसहितको ८ टिमको सहभागिता रहने थापाले जनाउनु भयोे ।

 

खेलकुदको माध्यमवाट देशका युवा पिँढीलाई सिर्जनशील एवं जिम्मेवार वनाई देश विकासका लागि अग्रसर हुन अभिप्रेरित गर्ने उद्देश्यले स्थापित महासंघले “एक कमिटी एक खेलकुद गतिविधि” सो कार्यक्रम आयोजना गर्न लागिएको पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । प्रतियोगिताबाट समाजमा महिला शसक्तीकरणमा समेत सहयोग पुग्ने र स्थानीय क्षेत्रका महिला भलिबल खेलाडीहरुमा हौसला बढ्ने आयोजकको अपेक्षा छ ।

 

प्रतियोगिताको विजेताले ५ लाख, उपविजेताले ३ लाख, तृतीयले १ लाख ५० हजार र सान्तवनाले ७५ हजार पुरस्कार प्राप्त गर्नेछ । ६ वटा विधामा उत्कृष्ट खेलाडीलाई १० हजार, प्लेयर अफ दी टुर्नामेन्टलाई २५ हजार, र प्लेयर अफ दी म्याचलाई ५ हजार पुरस्कार प्रदान हुने समेत जारी प्रेस विज्ञप्तिमा उल्लेख छ । प्रतियोगिताकालागि कोशी प्रदेश सरकारले २० लाख रकम प्रदान गरेको छ । अन्य रकम प्रायोजकसहितबाट जुटाएर खर्च व्यवस्थापन गर्ने संस्थाको योजना छ ।

 

महासंघ कोशी प्रदेश कमिटीले २०८० फागुन २१ गते “केपी ओली रोड रेस २०८०” अन्तर्गत १० किलोमिटर खुला (महिला/पुरुष) दौड प्रतियोगिता सम्पन्न गरेको थियो ।

 

Share: