भद्रपुर, फागुन ७
सौर्य एअर ओम साई पाथीभरा हस्पिटल गम्भीर राई स्मृति संस्करण भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको बुधबारको उद्घाटन खेलमा आयोजक भद्रपुर ब्लेजर्सले पाहुना टिमलाई हराएर विजयी सुरुवात गरेको छ ।
भद्रपुरस्थित मेची रंगशालाको उद्घाटन खेलमा पाहुना टोली दार्जीलिङ पुलिस भारतलाई ४–३ गोल अन्तरले पराजित गर्दै भद्रपुर क्वार्टर फाइनलमा प्रवेश गरेको हो ।
निकै रोमञ्चक खेलको तेस्रो मिनेटमा भद्रपुरका तर्फबाट विदेशी खेलाडी साम कार्लोसले १८ यार्डबाट दोस्रो बार च्याप्दै गरेको प्रहार गोलमा परिणत भएको थियो । खेलको ३९ औँ मिनेटमा भद्रपुरका स्टाइकर मिलन राईले गरेको प्रहार दार्जीलिङका गोलकिपर निगम सिंहबाट रिबाउन्स भएको थियो । सो बललाई भद्रपुरका कप्तान आशिष चापागाईंले गोल गर्दै खेललाई २–० को स्थितिमा पुर्याउनु भयो ।
खेलको ४२ आँै मिनेटमा भद्रपुरका सत्यम शर्माले मैदानको मध्य भागबाट सिंगल खेल्दै दार्जीलिङका गोलरक्षक सिंहसँग वानटुवान स्थितिमा गोल गर्नुभयो । खेलको ७२ आँै मिनेटमा विशाल दर्जीको क्रस पासमा प्रताप राईले गोल गर्दै भद्रपुरको जित सुनिश्चित गराउनु भयो ।
दार्जीलिङले दोस्रो हाफमा आयोजक भद्रपुरमाथि दबाब सिर्जना गरेको थियो । खेलको ५० औँ मिनेटमा प्रशान्त राईले पेनाल्टी एरियामा पाएको पासलाई गोलमा परिणत गर्नुभयो । खेलको ५५ आँै मिनेटमा नयन प्रधानले अर्को गोल थप्नुभयो । खेलको ७० औँ मिनेटमा दार्जीलिङका रूड गुलितले गोल गर्दै खेललाई ३–३ को बराबरीमा ल्याउन सफल भएको अवस्था रह्यो ।
खेलको प्लेयर अफ द म्याच विजेता टिमका आशिष चापागाईं बन्नुभयो । उहाँले नगद २१ हजारसहित ट्रफी प्राप्त गर्नुभयो ।
भद्रपुर नगरपालिका संरक्षक र झापा जिल्ला खेलकुद विकास समिति समन्वयकर्ताको रुपमा रहेका छन् । गोल्डकपको उद्घाटन राष्ट्रियसभा सदस्य तथा नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले गर्नुभएको थियो ।
मोफसलकै प्रतिष्ठित र लोकप्रिय प्रतियोगिता भद्रपुर झापा गोल्डकपको मुख्य प्रायोजक सौर्य एयरलाइन्स तथा ओम साई पाथीभरा हस्पिटल भद्रपुर रहेका छन् ।
गोल्डकपको विजेताले नगद १३ लाख, आकर्षक ट्रफी र मेडल र उपविजेताले नगद ७ लाख, ट्रफी र मेडल प्राप्त गर्नेछ । गोल्डकप सम्पन्न गर्न एक करोड ७८ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ ।
प्रतियोगिताभरिको सर्वोत्कृष्ट खेलाडी प्लेयर अफ द टुर्नामेन्टले नगद एक लाख पाँच हजार रुपैयाँ पाउनेछ । त्यस्तै, उत्कृष्ट गोलकिपर, उच्च गोलकर्ता, उदीयमान खेलाडी र प्रशिक्षकले नगद २५ हजार पाउनेछ ।
प्रत्येक खेलको प्लेयर अफ द म्याचलाई नगद २१ हजार रुपैयाँ दिइनेछ । प्रत्येक दिन टिकट काट्ने भाग्यशाली दर्शकलाई आकर्षण पुरस्कारको पनि व्यवस्था मिलाइएको छ । गोल्डकपका अध्यक्ष दिपेश ढकालको अध्यक्षतामा उद्घाटन कार्यक्रममा सम्पन्न भयो । कार्यक्रममा भद्रपुर नगरप्रमुख गणेश पोखरेलले शुभकामना व्यक्त गर्नुभएको थियो ।
बिहीबारको खेल झापा ११ एफसी र मछिन्द्र फुटबल क्लबबीच हुने आयोजकका सचिव तीर्थ ढकालले जानकारी दिनुभयो ।