काभ्रे : कोरोना भाइरस (कोभिड–१९) संक्रमणको कारण काभ्रेमा दुई जनाको मृत्यु भएको छ। जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका अनुसार कोरोनाको तेस्रो लहर सुरु भएसँगै जिल्लामा दुईजना संक्रमितको मृत्यु भएको हो।
कोरोना संक्रमणको कारण बुधबार काभ्रेको धुलिखेल नगरपालिकाका ८५ वर्षीय पुरुषको मृत्यु भएको छ। स्वास्थ्य कार्यालयका प्रमुख डा. पुरुषोत्तम राज सेढाईंका अनुसार शीर मेमोरियल अस्पतालमा श्वासप्रश्वास रोगसम्बन्धी उपचारको लागि आएका पुरुषमा ४ दिनअघि कोरोना संक्रमण पुष्टि भएको थियो।
त्यस्तै, गत माघ ४ गते जिल्लाकै मण्डनदेउपुर नगरपालिकाका ४६ वर्षीय पुरुषको मृत्यु भएको थियो। यससँगै काभ्रेमा पहिलो र दोस्रो चरणसमेतको गरी कोरोना संक्रमणकै कारण मृत्यु हुनेको कुल संख्या १ सय ९५ पुगेको छ।
काभ्रेमा १४ सय ५५ जना सक्रिय संक्रमित
जिल्लामा अहिले १ हजार ४ सय ५५ जना सक्रिय संक्रमित रहेको छ। जसमा ७ सय ८ जना महिला र ७ सय ४७ जना पुरुष रहेका छन्।
जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले पछिल्लो २४ घण्टामा १ सय ७ जनामा कोरोना संक्रमित थपिएको जनाएको छ। बुधबार पिसिआर १ सय १ वटा र एन्टिजेन १ सय २ वटा गरी २ सय ३ वटा परीक्षण गरिएकोमा ४९ वटा पिसिआर र ५८ वटा एन्टिजेन गरी १ सय ७ संक्रमित भेटिएका हुन्।
योसँगै जिल्लामा कोरोना संक्रमितको संख्या १६ हजार ८ सय ३६ पुगेको छ भने संक्रमणमुक्त हुनेको संख्या १५ हजार १ सय ८६ पुगेका छन्।