दमक, फागुन २५
दक्षिणी भारतको महाराष्ट्रमा बर्ड फ्लुको संक्रमण देखिएपछि खुला सिमानाका कारण नेपालमा पनि जोखिम हुन सक्ने देखिएको छ ।
भारतबाट अवैध रूपमा भित्रिने सेतो अण्डा, दाना, चल्लालगायत पशुपन्छीजन्य पदार्थसँगै रोग पनि भित्रिने अधिक सम्भावना छ । अवैध रुपमा खुलमखुला भित्रिने वस्तुबाट एकातर्फ रोग भित्रिने र अर्कातर्फ नेपाली बस्तुको व्यवसायमा असर पर्ने देखिन्छ । बर्ड फ्लु भाइरस अण्डा, कुखुराको सुली, मान्छेको आवातजावात, दानालगायत मध्यमबाट सजिलै सर्ने गर्छ ।
कुनै पनि देशमा बर्ड फ्लु देखिए त्यहाँबाट पन्छीसम्बन्धी कुनै प्रकारको वस्तु आयात गर्न नपाइने कानुनमा उल्लेख छ । ‘बर्ड फ्लु नियन्त्रण नियमावली, २०७८’ अनुसार बर्ड फ्लु देखिएको क्षेत्रबाट पन्छी, पन्छीजन्य पदार्थ, पन्छी उत्पादन सामग्री तथा बर्ड फ्लु सार्न सक्ने अन्य वस्तुको ओसारपसार गर्न प्रतिबन्ध लगाउन सकिने छ ।
पछिल्लो समय गत फागुन ५ गते सुनसरीको कोशी गाउँपालिका ६, कुम्याहीमा हाँस र लोकल कुखुरामा बर्ड फ्लु देखिएको थियो । तर त्यो नियन्त्रणमा भने आइसकेको छ ।
नेपालमा कुखुरा व्यवसायमा अर्बौैँ लगानी रहेको अवस्थामा रोग सर्न नदिन अवैध रुपमा भित्रिने कुखुरा र कुखुराजन्य सामग्री रोक्न सीमा क्षेत्रमा कडाइ गर्नुपर्ने नेपाल पोल्ट्री व्यवसायी महासंघका महासचिव दिनेशराज मिश्र बताउनु हुन्छ । देशभर दैनिक ८ लाख किलो ब्रोइलर कुखुराको मासु उत्पादन हुने गरेको र त्यसमध्ये काठमाडौँ उपत्यकामा मात्रै ५ लाख किलो खपत हुने गरेको राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघका अध्यक्ष जंग बहादुर बेल्बासेले जनाउनु भयो ।
पशु सेवा विभागका वरिष्ठ पशु चिकित्सक डा. नवराज श्रेष्ठका अनुसार पछिल्लो समय यो रोग झापाको मेचीनगर नगपालिकामा देखिएको थियो । त्यसयता यसको प्रकोप प्रायः देखिएको छैन ।
तर नेपालमा बर्ड फ्लु बर्सेनि भेटिने गरेको छ । यो वर्ष कोशी प्रदेशमा देखिएको थियो तर नियन्त्रणमा आउन धेरै समय भने लागेन । यो रोग २०७१ र २०७८ मा धेरै देखिएको थियो । त्यो बेला वर्षमा १ देखि १५० फार्ममा यो रोग देखापरेको थियो ।









