दमक, चैत ७
महायज्ञ गर्नकालागि अरु वर्षौंदेखि बस्दै गरेको घरै भत्काउनु कति अन्यायपूर्ण काम हो त ? सिराहाको औरही गाउँपालिका ५ स्थित विष्णु महायज्ञ गर्न दलित (डोम) परिवारमाथि उठिबास लगाएको विषय यसबेला प्रतिनिधिसभामा उठेको मात्रै होइन संसद नै तातेको छ । ।
प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्ने सांसदहरूले अन्तर्राष्ट्रिय जातीय उन्मुलन दिवस मनाउने घोषणा गरेको १८ वर्ष बित्दासम्म पनि यस्ता कार्य हुनु जघन्य अपराध भएको बताए । सांसदहरूले सो घटनाको तत्काल छानबिन गर्न छानबिन समिति बनाउन पनि माग गरेका छन् ।
नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले प्रतिनिधिसभामा बोल्दै औरही गाउँपालिका अध्यक्ष शिवजी यादव र जनमत पार्टीका पालिका अध्यक्ष दिलीप यादवसहितले डोजर लगाएर दीपक मरिक (डोम) परिवारको घर भत्काइदिएको बताउँदै यादवहरुमाथि कारबाही र पीडितलाई क्षतिपूर्ति दिन माग गर्नुभएको छ ।
जनमत पार्टीका सांसद अब्दुल खानले घटनाको भत्सर्ना गर्दै छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गर्नुभयो । साथै उहाँले स्थानीय प्रहरी चौकी र स्थानीय प्रशासनले मौन समर्थन जनाएको भन्दै आपत्ति जनाउनु भयो ।
स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले पनि घटनाको छानबिन गरी दोषीमाथि कडा कारबाहीको माग गर्ने जनाउनु भयो ।
महायज्ञ गर्न आएका बजरंगी बाबाको निर्देशनमा जेसीबी लगाएर घर भत्काईदिएको भन्दै बुधबार पीडित दिपककी श्रीमती अनिता मरिकले बताउनु भयो । मरिक परिवार वर्षौँदेखि बस्दै आएको सो स्थानमा भने महायज्ञको तयारी गरिएको छ ।