दमक, चैत ७
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमा कार्यक्रममा विनियोजित बजेट अपुग भएका कारण बक्यौता तिर्दै थप सेवा विस्तार गर्ने उद्देश्यका साथ विकल्पसहितको प्रतिवेदन तयार पारेर कार्यान्वयन प्रक्रियामा अघि बढिरहेको बताउनु भएको छ ।
व्यवस्थापिका संसदमा सांसद डा. सुनिल शर्माले दर्ता गराउनु भएको सार्वजनिक महत्वको प्रस्तावमा भएको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री पौडेलले विगतको बक्यौता राज्यले पुरा चुक्ता गरेर नियमित आम्दानी हुने बाटो बनाए मात्र कार्यक्रम दिगो हुने भएकाले बीमा सुधार सुझाव कार्यदलको प्रतिवेदनमा उल्लेख भए अनुसार कार्ययोजना बनाएर अघि बढिएको बताउनु भयो ।
अघिल्लो बक्यौतासहित स्वास्थ्य बीमा सुधारका लागि ४० अर्ब लाग्ने भन्दै मन्त्री पौडेलले ‘कि बीमा व्यवस्थित गर्न ४० अर्ब विनियोजन गरौँ कि अरु ढङ्गबाट श्रोत सुनिश्चित गरेर नियमित आम्दानी हुने गरी अघि बढौं’ भन्ने प्रस्ताव गर्नु भएको छ ।









