बल्झिदै शरणार्थी समस्या

भुटानले किन स्वीकारेन आफ्ना नागरिक ?

भुटान सरकारको निन्दा गर्दै स्वदेशफिर्तीका लागि पाँच संगठनको माग

दमक, चैत १९/ .प्रजातन्त्र र मानव अधिकारको वकालत गर्दै आएका भुटानका ५ वटा सगठनले मंगलबार संयुक्त प्रेस विज्ञप्ति जारी गरी स्वदेशफिर्तीको आवाज उठाउँदै फेरि पनि शरणार्थी बन्नुपर्ने नियति रोक्न अन्तर्राष्ट्रिय रुपमा पहल कदमीको अपेक्षा गरेका छन् ।

 

अमेरिकामा पुनर्वास भएका भुटानीमध्ये पछिल्लो पटक तीन जनालाई त्यहाँबाट भुटान सुपुर्दगी गरेको तर भुटानले उनीहरुलाई जिम्मा लिएपनि त्यहाँ बस्न नदिई नेपालमा रहेको उही पुरानो शरणार्थी शिविरतर्फ पठाएको घटनाको सन्दर्भलाई लिएर यसखाले संयुक्त धारणा अघि सारिएको हो ।

 

भुटान पिपुल्स पार्टीका अध्यक्ष बलराम पौडेल, ड्रुक नेशनल कंग्रेस प्रजातान्त्रिकका अध्यक्ष रिन्जिन दोर्जी, भुटानी शरणार्थी प्रतिनिधि स्वदेश फिर्ती समितिका कार्यवाहक अध्यक्ष तिलक राई, भुटान स्वतन्त्र जनमञ्चका महासचिव डीबी सुब्बा र नेशनल रिकन्सिलेशन कमिटी भुटानका संयोजक कृष्णवीर तामाङले संयुक्त रुपमा विज्ञप्ति जारी गर्नुभएको छ । विज्ञप्तिमा भुटानको कदमप्रति निन्दा गरिएको छ ।

 

करिव दुई दशकअघि विश्वका विकसित देशहरूले दीर्घकालीन समाधानको नाममा नेपालमा शरण लिएका भूटानी शरणार्थीहरूलाई तेस्रो देश पुनर्वास प्रक्रियाका लागि आह्वान गरे । यसअन्तर्गत कानूनी प्रक्रिया पूरा गरि क्यानडा, अस्ट्रेलिया, न्यूजिल्याण्ड, नेदरल्याण्ड, नर्वे, संयुक्त राज्य अमेरिका, डेनमार्क र वेलायतमा भुटानी शरणार्थीहरू पुनर्वास हुने क्रम बढेर गयो । ती मध्ये अधिकांश भूटानी शरणार्थीहरूले संयुक्त राज्य अमेरिकामा पुनर्वास हुने अवसर प्राप्त गरें । तर विडम्बना, केही दिनअघि मात्र अमेरिकामा पुनर्वास भएका मध्ये १० जना भुटानीलाई देश निकाला गरिएको र चार्टर विमानद्वारा पारो विमानस्थल पर्‍ु्याएर भुटान सरकारलाई हस्तान्तरण गरिएको थियो । तर अमेरिकी अधिकारी फर्किए लगत्तै भुटानले उनीहरूलाई मध्यरातमा सरकारी साधनमा राखी भारतीय सीमापार गराइएको अर्को दुखद् घटना बाहिरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ । विज्ञप्तिमा भनिएको छ ‘सीमापार गराइएका मध्ये आशिष सुवेदी, रोशन तामाङ र सन्तोष दर्जी नेपालस्थित शरणार्थी शिविरमा पुगे । तर अन्य सात जना सम्पर्कविहीन रहेको हुँदा हामी सबै स्तब्ध र चिन्तित भएका छौँ ।’

 

 

भुटानले संरक्षण गर्ने जिम्मेवारी लिएका नागरिकलाई पुनः देश निकाला गर्ने कार्यले सन् १९४८ को मानव अधिकारको विश्वव्यापी धोषणापत्रको प्रत्यक्ष उल्लंघन भएको छ र भूटानले वकालत गर्दै आएको कथित लोकतन्त्रको उपहास मात्र होइन वास्तविकता पनि उदाङ्गो पारेको विज्ञप्तिमा भनिएको छ ।

 

भुटानी शरणार्थी समस्याको एक मात्र समाधान स–सम्मान स्वदेश फिर्ती नै हो भन्ने यथार्थलाई वर्तमान घटनाक्रमले पनि पुष्टि गरेको उल्लेख गर्दै भनिएको छ ‘यसकारण विश्वका मानव अधिकारवादी संस्थाहरू, एम्नेष्टि इन्टरनेशनल, संयुक्त राष्ट्रसंघ, राष्ट्रसंघीय शरणार्थी उच्चायुक्त साथै अन्तर्राष्ट्रिय समुदायलाई हामी भूटान सरकारले अपनाएको अमानवीय र घृणित कार्यको गम्भीरतापूर्वक निन्दा गर्दै मुद्दाको दीर्घकालिन समाधानका लागि पहल गर्न ध्यानार्कषण गर्दछौँ ।’

 

विज्ञप्तिमा मागका रुपमा चारवटा बुँदा रहेका छन् । भुटानले जिम्मा लिएर निकाला गरेका पीडितहरुको मानवको रूपमा बाँच्न पाउने न्यूनतम अधिकार सुनिश्चित गर्न सहयोगका लागि नेपाल र भारत सरकार, मानव अधिकार संगठनहरू, पत्रकार जगत, अन्तर्राष्ट्रिय समुदाय र सम्बन्धित पक्षलाई अनुरोध गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

 

विज्ञप्तिको अर्को बुँदामा कथित प्रजातन्त्रको घोषणा पश्चात् पनि भुटान सरकारको आफ्ना नागरिकहरूलाई बलपूर्वक देश निकाला गर्ने र बेपत्ता पार्ने अभ्यासमा सुधार नभएको हालैको घटनाक्रमले पुष्टि गरेको उल्लेख छ । संयुक्त राज्य अमेरिकाले १० जता भुटानीलाई भुटान सरकारलाई हस्तान्तरण गरिएको भनिए पनि केवल तीनजना मात्र सम्पर्कमा आए र उनीहरु नेपालको अध्यागमनको हिरासतमा छन् । अन्य सात जनाको अवस्था अझैसम्म अज्ञात रहेको उल्लेख गर्दै विज्ञप्तिमा अगाडि भनिएको छ

‘हांमी विश्वका सबै संस्थाहरू, अन्तर्राष्ट्रिय समुदाय, एम्नेष्टी इन्टरनेशनल र विशेष गरी भारत र नेपालस्थित अमेरिकी दुतावाससाई उनीहरूको खोजी गर्न र राज्यविहीनता एवं पहिचानविहीनता हुने स्थितिबाट बचाउन अपिल गर्दछौँ ।

 

 

विज्ञप्तिमा भूटानी नागरिकहरूलाई पटक–पटक शरणार्थी बन्नबाट बचाउन र शरणार्थी समस्याको दीर्घकालीन तथा पूर्ण समाधान हेतु बहुपक्षीय बार्ताको विकल्प नभएकाले बार्ताका लागि यथाशीघ्र नेपाल सरकारको अग्रसरतामा अन्तर्राष्ट्रिय जगतको सकारात्मक पहल हुनेमा विश्वस्त रहेको उल्लेख गरिएको छ ।

 

भुटानले फेरि एक पटक भाफ्ना नागरिक विरूद्ध अमानवीय कार्य गरेको भनिएको छ । जसलाई उसले संयुक्त राज्य अमेरिकासँग आफ्नो नागरिकको रूपमा स्वीकार गरिसकेको प्रसंगसहित भनिएको छ ‘हामी भूटान सरकारको यस कार्यप्रति कडा शब्दमा निन्दा गर्दछौँ । संगसँगै हामी विश्व समुदायसंग हालै भुटानबाट गलत तरिकाले निष्काशित गरिएका र तीन दशक अघिदेखि स्वदेश फर्कन लालायित सबै भुटानीहरूलाई आफनै देशमा सहज रूपले बस्नसक्ने वातावरण सिर्जना गर्न दीर्घकालीन समाधानको पहल र समर्थनका लागि पनि जोडदार माग गर्दछौँ ।’

 

झापाको दमकस्थित पहिले आफू शरणार्थी हुँदा बसेको बेलडाँगी शिविरमा शुक्रबार आइपुगेका तीन जनालाई अवैधानिक रुपमा नेपाल प्रवेश गरेको भन्दै अध्यागमन विभाग झापाले पक्राउ गरी अनुसन्धान अघि बढाएको छ । पारो विमानस्थलमा अध्यागमन र अन्य अधिकारीले ‘तिमीहरूको भुटान बस्ने ठाउँ र अधिकार नरहेको’ भन्दै तत्कालै देश छाड्न निर्देश गरेका थिए । त्यसपछि उनीहरूलाई गाडीमा राखेर जयगाउँ (भारतको) सिमाना ल्याएर छाडिएको थियो । बेलडाँगी शिविरमा रहेका आफ्‌ना बाबु कुमार सुवेदी रहेको ठाउँमा आशिषसहितका युवाहरु आइपुगेका थिए । उनीहरुलाई आपराधिक गतिविधिमा सामेल भएको भन्दै अमेरिकाबाट विमानमा भुटान ल्याएर जिम्मा लगाएको अवस्थामा त्यहाँबाट भारतहुँदै नेपालतर्फ नै सीमा कटाएपछि शरणस्थलमा आइपुग्दा पक्राउ परेका थिए ।

 

झापाका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले अवैध रुपमा नेपाल भित्रिन नपाउने कानुनी प्रावधानको निर्देशन बमोजिम उनीहरुलाई नियन्त्रणमा लिएर अध्यागमन् विभागमार्फत अनुसन्धान भइरहेको बताउनु भएको छ । उता, अध्यागमन विभाग काँकडभिट्टा प्रमुख तुलसी भट्टराईले नयाँ विषय भएकाले विभागले निर्क्यौल नगरेसम्म यहाँबाट केही भन्न नमिल्ने जवाफ दिनु भएको छ । प्रहरीले पक्राउ गरेर ल्याएको अवस्थामा अनुसन्धानका लागि राखिएको तर राख्ने ठाउँ नभएकाले इलाका प्रहरी कार्यालयकै हिरासतबाट अनुसन्धान भइरहेको उहाँको भनाई छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दमकमा मनाइएको साकेलामा देखियो यस्तो रौनकता

दमक,१८ वैशाख । आज साकेला पर्व देशभर बिभिन्न कार्यक्रम गर्दै मनाइएको छ । साकेला अर्थात उभौली पर्व प्रकृतिप्रति कृतज्ञता व्यक्त गर्ने तथा बाली रोपाइंसंग सम्बन्धित

बुद्धको वचन किन तोडीदै

दमक,१८ वैशाख । बुद्ध जन्मेको देश नेपाल । यो वाक्य सुन्दा पनि विस्वभर रहेका नेपालीहरुको छाती गर्वले ढक्क फुल्ने गर्दछ । तर आज गौतम बुद्धको

कांग्रेसले अब ’नबोल्ने व्रत’ तोड्ने थापाको दाबी

काठमाडौं,१८ वैशाख । नेपाली कांग्रेसका सभापति गगन थापाले वर्तमान सरकारको कार्यशैलीप्रति कडा आलोचना गर्नु भएको छ । शुक्रबार नेपाल ट्रेड युनियनको कार्यक्रममा सम्बोधन गर्दै थापाले

दशरथ रंगशालामा सुकुमवासीको विवरण संकलन तीव्र

काठमाडौं,१८ वैशाख । दशरथ रंगशालामा सुकुमवासीको विवरण संकलन गर्ने कार्य तिब्ररुपमा भइरहेको छ । सहरी व्यवस्थापनका लागि विभिन्न स्थानबाट हटाइएका सुकुमवासीलाई अस्थायी बसोबासमा स्थानान्तरण गर्ने

सुन्य खन जोत प्रविधि

उर्लाबारी,१८ वैशाख । परम्परागत रूपमा खेत जोतेर खेती गर्दा लाग्ने समय, श्रम र लागतलाई चुनौती दिँदै बिना जोताई गरिएको खेतीमा उत्पादन राम्रो देखिएपछि कृषकहरू यसतर्फ

जहाँ श्रमिक सम्मानित हुन्छ,त्यही समाज समृद्ध हुन्छ : अध्यक्ष ओली

काठमाडौं,१८ वैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जहाँ श्रमिकको सम्मान हुन्छ त्यही समाज समृद्ध हुने बताउनु भएको छ । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा