बालबालिका संक्रमित

अभिभावककै कमजोरीका कारण बालबालिका संक्रमित

 

 

 

 

काठमाडौँ — धादिङकी ६० वर्षीया कृष्णमाया विककी २० महिने नाति कान्ति बाल अस्पताल महाराजगन्जको कोभिड वार्डमा उपचाररत छन् । ज्वरो आउने, पातलो सिंगान बग्ने समस्या भएपछि उनलाई शनिबार अस्पताल ल्याइएको हो । पीसीआर परीक्षण गर्दा पोजिटिभ देखियो । ‘बिहीबारसम्म ठिकै थियो,’ विक भन्छिन्, ‘बहिनीको बिहे भोजबाट बुहारी फर्केदेखि बच्चा बिरामी पर्‍यो । महामारीका बेला नहिँड्नु त भनेको थिएँ ।’ भोजमा हुने भीडभाडबाट कोभिड सरेको विकको अनुमान छ ।

  • कलंकीकी सजना रोक्काको एकमहिने छोरालाई साताअघि ज्वरो र घाँटी बस्ने समस्याले सतायो । कोरोना संक्रमण पुष्टि भएका उनी कान्तिकै कोभिड वार्डमा उपचारार्थ छन् । साताअघि सजनाका श्रीमान्लाई पनि ज्वारोले सताएको थियो तर पीसीआर परीक्षण गराएनन् । मेडिकलको औषधिले बिसेक भए पनि लगत्तै छोरालाई ज्वरोले समात्यो । सुत्केरी हेर्न आएका आफन्त या श्रीमान्बाटै छोरामा संक्रमण सरेको हुन सक्ने रोक्का बताउँछिन् ।
  • दाङ, घोराहीका सुकुमान चौधरीका ३ वर्षीय छोरा पनि कान्तिको कोभिड वार्डमै छन् । अभिभावबाटै उनमा कोरोना सरेको अनुमान छ ।

कान्तिमा कोभिडका लागि छुट्याइएका २६ बेड भरिएका छन् । चार वटा भेन्टिलेटर पनि प्याक छन् । कोभिड बिरामी नवजात शिशुदेखि १३ वर्षसम्मका उपचाररत छन् । सबैजसो बिरामीमा आफन्त वा अभिभावकबाटै संक्रमण सरेको चिकित्सकहरूको अनुमान छ । अस्पतालका निर्देशक डा. अजित रायमाझी भन्छन्, ‘खोप लगाएका धेरैजसो अभिभावकले स्वास्थ्य मापदण्ड पालनामा हेलचेक्रयाइँ गरे । खोप लगाएका कतिपयलाई संक्रमित भए पनि लक्षण नदेखाउन सक्छ । बालबालिकामा रोगप्रतिरोधात्मक क्षमता कम हुने भएकाले सजिलै संक्रमण सर्ने गरेको हो ।’

अभिभावककै कमजोरीका कारण कतिपय बालबालिका अस्पताल आउनुपरेको डा. रायमाझीले बताए । ‘बालबालिकालाई सकेसम्म घर परिसरभित्रै खेलाउन, झोलिलो पदार्थ बढी खुवाउन र भीडभाडमा नपठाउन अनुरोध गर्छु,’ उनले भने, ‘घरभित्रै व्यायाम गराउने, बेलाबेला चिकित्सकको परामर्श लिने, लक्षण देखापर्नेबित्तिकै परीक्षण गराउनुपर्छ ।’

स्वास्थ्य मन्त्रालयले हरेक दिन सार्वजनिक गर्ने तथ्यांकमा संक्रमितको संख्या घट्दै गएको देखिन्छ । तर, समुदायमा भएको संक्रमणको हिसाब मन्त्रालयसँग छैन । सबभन्दा बढी जोखिममा खोप नलगाएकाहरू छन् । सरकारले ५ देखि ११ वर्षका बालबालिकालाई खोप दिन थालेको छैन । यो उमेर समूहका करिब ४० लाख जनसंख्या छ । अमेरिकामा भने गत नोभेम्बर दोस्रो सातादेखि ५–११ वर्षका बालबालिकाका लागि फाइजर खोप लगाउन थालिएको थियो । यो उमेर समूहलाई ओमिक्रोनबाट मात्र नभई डेल्टा भेरिएन्टबाट पनि उत्तिकै जोखिम छ ।

कान्तिमा कोभिड वार्डसँगै ओपीडीमा आउने बिरामीको संख्या पनि बढेको छ । सामान्यतया यो सिजनमा २ सयदेखि २ सय ५० जना दैनिक उपचारमा आउने गरेकामा अहिले ४ सयभन्दा बढी पुगेको अस्पतालले जनाएको छ । उपचारमा आउनेमध्ये ५० देखि ६० प्रतिशत बिरामीमा कोरोना पोजिटिभ देखिने गरेको निर्देशक डा. रायमाझीले बताए । उनका अनुसार धेरैजसोलाई औषधि दिएर घरमै पठाउने गरिएको छ । ‘कोभिडले बढी दम, सुगर, प्रेसर, क्यान्सर, मुटुजस्ता रोग लागेका बालबालिका जोखिममा छन्,’ उनले भने, ‘यस्ता दीर्घरोग भएका बालबालिकाका अभिभावकले विशेष ध्यान दिनुपर्छ । खोप नलगाएका अभिभावकले चाँडै खोप लगाइहाल्नुपर्छ ।’

कान्तिमा कोभिड बिरामीका लागि छुट्टै इमर्जेन्सी वार्ड छुट्याइएको छैन । इमर्जेन्सीमा ११ बेड छन् । बिरामीको चापका कारण कोभिड र ननकोभिड बिरामी एउटै बेडमा उपचार गराउन बाध्य छन् । सर्लाही लालबन्दीबाट छारे रोग लागेर २६ महिनाको छोराको उपचार गराउन आएका राजन श्रेष्ठले इमर्जेन्सीबाटै कोभिड सरेको आरोप लगाए । ‘छोरालाई ज्वरो थिएन, सँगै राखिएको बच्चाको १०१ ज्वरो थियो,’ उनले भने, ‘त्यहींबाट सरेको हुनुपर्छ ।’

इमर्जेन्सी वार्ड भरिएकाले नयाँ बिरामी उपचार गराउन आए भुइँमा बस्नुपर्ने अवस्था छ । पोखराका लक्षण गुरुङले तीन दिनपछि मात्र बेड पाएको बताए । ‘चिसो भुइँमा बस्नुपर्दा श्रीमती र १० महिने छोरालाई रुघाले सताएको छ,’ उनले भने ।

निर्देशक डा. रायमाझीले सेवाग्राहीको ध्यानमा राखेर २५ बेडको अब्जर्भेसन वार्ड विस्तारको तयारीमा रहेको बताए । पहिलो लहरमा ज्येष्ठ, दोस्रोमा युवा र तेस्रोमा तुलनात्मक रूपमा बालबालिकामा संक्रमण दर बढी छ । स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार यो साता प्रत्येक दिन २० वर्षमुनिका २ सय ५० भन्दा बढी संक्रमित भइरहेका छन् । हालसम्म ०–१० वर्ष उमेर समूहका २१ हजार ६ सय, ११–२० वर्षका ६२ हजार ९ सय ४५ संक्रमित भएको तथ्यांक छ ।

२० वर्षसम्म सबभन्दा बढी काठमाडौंमा २६ हजार ७ सय ८४ र सबभन्दा कम मनाङमा ८ जना संक्रमित भइसकेका छन् । मन्त्रालयका अनुसार हालसम्म २० वर्षसम्मका एक सय ७ जनाको मृत्यु भइसकेको छ । मोडर्नाको खोप ७४ लाख मात्रा भित्रिए पनि सरकारले १२ देखि १७ वर्षका बालबालिकालाई मात्र दिन थालेको छ ।

 

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

इलाम दुर्घटना: धन्न मानवीय क्षति भने भएन

इलाम १५ असार । इलाम नगरपालिका–९ राजदुवालीस्थित मेची राजमार्गमा आइतबार दिउँसो गोलिया (काठ) लोड गरेको ट्रक अनियन्त्रित भई करिब १०० मिटर तल खस्दा दुर्घटना भएको छ।

त्रिविका क्याम्पसहरूबाट दलीय विद्यार्थी संगठनका संरचना हटाउन निर्देशन

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आफ्ना सबै आंगिक क्याम्पसहरूबाट दलनिकट विद्यार्थी संगठनका संरचनाहरू हटाउन निर्देशन दिएको छ। विश्वविद्यालयको विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले सोमबार

किसानलाई राहत कि केवल सरकारी औपचारिकता ?

काठमाडौं १५ असार ।  नेपालमा आज (असार १५) २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव हर्षोल्लासका साथ मनाइँदै छ । ‘मानो रोपेर मुरी फलाउने’ महिनाको

प्र्यांकको नाममा समाजलाई त्रास बनाउने खेल कहिलेसम्म

झापा १५ असार । पछिल्लो समय सामाजिक सञ्जालमा प्र्यांकको नाममा देखाइने केही गतिविधिले एउटा गम्भीर प्रश्न खडा गरेको छ—हामी मनोरञ्जन गरिरहेका छौँ कि समाजमा डर

सुस्ता क्षेत्रको विवाद अझै समाधान हुन सकेन : भीम रावल

काठमाडौं ,१५ असार । नेपाली कम्युनिस्ट पार्टीका नेता भीम रावलले नेपाल जस्तो संवेदनशील भूराजनीतिक अवस्थाको देशले आफ्नो राष्ट्रिय हित र सीमाको सुरक्षामा अडान लिनुपर्ने बताउनु

बेरुजु दोहोरिनु वित्तीय अनुशासनका लागि गम्भीर चिन्ताको विषय : सभामुख अर्याल

काठमाडौं , १५ असार । सभामुख डोलप्रसाद अर्यालले वर्षेनी एउटै प्रकृतिका बेरुजु दोहोरिनु वित्तीय अनुशासन, सुशासन र सार्वजनिक उत्तरदायित्वका दृष्टिले गम्भीर चिन्ताको विषय भएको बताउनु