दमक, ११ बैशाख / आज देशभर १९औँ लोकतन्त्र दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।
प्रजातान्त्रिक तथा लोकतान्त्रिक संघर्षमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै यो दिवस मनाइने क्रम अघि बढेको छ ।
तत्कालीन राजा ज्ञानेन्द्र शाहले २०५९ साल जेठ ८ गते विघटित संसद्को पुनःस्थापना गरी आफू देशको कार्यकारी प्रमुख बन्नु भएको थियो । जनआन्दोलन ०६२/०६३ बाट शाहको शासन अन्त्य गरी २०६३ साल वैशाख ११ गते लोकतन्त्र बहाली भएको स्मरणमा ०६५ बैशाख ११ गतेबाट लोकतन्त्र दिवस मनाइने गरिएको हो ।
निरङ्कुशताको विरोधमा आन्दोलनरत सात राजनीतिक दल र तत्कालीन विद्रोही नेपाल कम्युनिष्ट पार्टी (माओवादी)सहितको सहभागितामा भएको जनआन्दोलनको बलमा उक्त घोषणामार्फत विसं २०६३ साल वैशाख १५ गते प्रतिनिधिसभाको बैठक आह्वान गरिएको थियो ।
लोकतन्त्र स्थापनापछि दुईवटा संविधानसभाको निर्वाचनद्वारा गठित संविधानसभाबाट २०७२ साल असोज ३ गते संविधान जारी गर्दै मुलुकलाई संघीय लोकतान्त्रिक गणतन्त्रका रुपमा स्थापित गरिएको थियो ।
राज्यद्वारा उपलब्ध गराउनुपर्ने सेवासुविधा जनताको घरदैलोमै सरल र सहज रूपमा पुर्याउने तथा विपद्का बेलामा तत्कालै राहत र सहयोग उपलब्ध गराउने सन्दर्भमा संघीयताको अभ्याससँगै सङ्घ, प्रदेश र स्थानीय तहबीचको समन्वयले प्रभावकारी र सकारात्मक नतिजा प्रदान गर्दै आएको छ ।
यसैबीच, लोकतन्त्र दिवसको सन्दर्भ पारेर नेकपा एमालेले आज दिउँसो १ बजेबाट काठमाडौंको भृकुटी मण्डपमा युवा महोत्सवको आयोजना गर्दैछ । कार्यक्रममा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र महासचिव शङ्कर पोखरेलले मन्तव्य राख्ने र बाँकी सबै वक्ता युवा रहने युवा सङ्घका अध्यक्ष क्षितिज थेबेले जनाउनु भयो ।









