विराटनगर । मोरङको धनपालथान ७ कमलपुरस्थित उखुबारीमा शव भेटिएका दुई जनाको हत्या सोहि स्थानमा भएको खुलेको छ ।
सिरहाका अनिलकुमार मण्डलको योजनमा सुनसरीको धरान ३ का ४९ वर्षीय राजेन्द्रकुमार श्रेष्ठ र सप्तीको सम्भुनाथ नगरपालिका ४ का ३२ वर्षीय शम्भु चौधरीको हत्या शव गाडिएको स्थान नजिकै भएको खुलेको प्रहरीले जनाएको छ ।
हत्याका मुख्य योजनाकार मण्डललाई पक्राउपछि आज सार्वजनिक गर्दै मोरङ प्रहरीले हत्याको विवरण सार्वजनिक गरेको हो । साझेदारी कारोबारको रकम एकलौटी बनाउन मण्डलले भारतीय हत्याराको प्रयोग गरेर उनीहरुको हत्या गरेको प्रहरीको भनाइ छ ।
श्रेष्ठ र चौधरीको शव मोरङको धनपालथान ७ स्थित उखुबारीमा हत्यापछि गाडिएको अवस्थामा माघ १३ गते फेला परेको थियो । प्रहरीका अनुसार श्रेष्ठको पुस ५ गते शव फेला परेको स्थानबाट करिब १०० मिटर उत्तर कमलर कमलपुर जाने नहरमा हत्या भएको थियो । त्यसको २ दिनपछि पुस ७ गते शव फेला परेको उखुबारीमै चौधरीको हत्या भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार तीनै जनाको हत्या डोरी र गाम्छाले कसेर गरिएको थियो । हत्यापछि शव खाल्डोमा हालेर त्सलाई गलाउन नुन प्रयोग गरेको पाइएको छ । प्रहरीले हत्यापछि शव गाड्न प्रयोग भएको कोदालो र ६ प्याकेट नुनसमेत बरामद गरेको जनाएको छ ।
प्रहरीले हत्याका मुख्य योजनाकार सिरहा नगरपालिका २१ का ३१ वर्षीय अनिलकुमार मण्डलसहित उनका दुई सहयोगीलाई पक्राउ गरेर सार्वजनिक गरेको छ । मण्डललाई काठमाडौंबाट माघ २० गते पक्राउ गरेको प्रहरीले मोरङको जहदा ४ सिसवनीका २९ वर्षीय अमित साह भनिने दिननाथ सोनारलाई विराटनगर ५ बाट र धनपालथान ७ कमलपुर बस्ने ६२ वर्षीय नसिर आलमलाई विराटनगरको मटेरुवाबाट सोहि दिन पक्राउ गरेको जनाएको छ ।
मण्डलको समूहले तेह्रथुम घर भई काठमाडौं बस्ने मोहनकुमार लिम्बुको पनि हत्या गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार जग्गा लगायतको कारोबार गर्दै आएको आएका उनीहरुले सिमेन्ट उद्योग र हाईड्रोमा पनि लगानी गरेका थिए । त्यो कारोबारको रकम कब्जा गर्न मण्डलले हत्याको योजना बनाएर कार्यान्वयन गराएको खुलेको मोरङ प्रहरी प्रमुख एसपी जनार्दन जिसीले बताए ।
एउटा व्यवसायबाट एक करोडभन्दा बढी कमाई हुन थालेकाले त्यही पैसाको लोभमा परेका मण्डलले योजना बनाएर तीन जनाको हत्या गराएको देखिएको प्रहरीले जनाएको छ ।
विराटनगरबाट पक्राउ परेका सोनार र आलमले प्रहरीले घटनाबारे जानकारी दिएपछि मण्डल पक्राउ परेका थिए । उनले सुरुमा घटनाबारे इन्कारी बयान दिएपछि तीन जनालाई भेट गराएपछि आरोप स्वीकार गर्दै भक्तपुरमा लिम्बूको पनि हत्या गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ ।
हत्याअघि चौधरी र श्रेष्ठलाई विराटनगरस्थित मेट्रोसिटी गेष्ट हाउस र रत्ना होटललमा राखेको पाइएको प्रहरी अनुसन्धानबाट खुलेको छ । प्रहरीले कल डिटेल रेकर्ड (सीडीआर) को सहायताबाट हत्यारासम्म पुगेको हो ।
मोरङको उखुबारीमा शव भेटिएकाहरुसँग सम्पर्क भएकाहरुको विवरण खोतल्दै जाँदा प्रहरीले मण्डल र लिम्बूको कनेक्सन फेला पारेको थियो । लिम्बूको फोन अफ रहेपनि मण्डल काठमाडौंमै रहेको पाइएपछि मोरङ प्रहरीका डिएसपी मञ्जिल मुकारुङ नेतृत्वको टोलीले काठमाडौं पुगेर अपराध महाशाखासँगको समन्वयमा उनलाई पक्राउ गरेको हो ।
प्रहरीको प्रारम्भिक अनुसन्धानबाट हत्यामा ८ जना भारतीय नागरिकको प्रयोग भएको देखिएको छ । व्यवसायिक साझेदार मण्डलले श्रेष्ठ, चौधरी र लिम्बूको हत्यामा प्रतिव्यक्ति ५ लाख रूपैयाँ दिएर अपराधी प्रयोग गरेका थिए । ‘पाँच लाख दिने सर्तमा तीन जनाको हत्या गर्न मण्डलले लगाएको पाइयो,’ प्रहरी स्रोतले भन्यो, ‘हत्यामा संलग्नले प्रतिव्यक्ति तीन लाख रूपैयाँ लिइसकेको र दुई लाख रूपैयाँ लिन बाँकी रहेछ ।’
लिम्बूको हत्यापछि हत्यामा संलग्न मण्डल श्रेष्ठ र चौधरीलाई लिएर मंसिर २८ गते विराटनगर आएको पाइएको प्रहरीले जनाएको छ । तर, उनीहरुलाई लिम्बूको हत्या भएको कुनै जानकारी थिएन । उनीहरुलाई केहि दिन होटलमा राखेर उखुबारीमा लगि हत्या गरिएको थियो ।