दमक, १३ जेठ । पछिल्लो समय भारत र चीन लगायत एसियाली मुलुकमा देखिन थालेको कोरोनाको नयाँ लहर नेपालमा पनि भेटिएको छ ।
भारतमा पछिल्लो समय समुदायस्तरमा फैलिएको कोरोना भाइरसबाट नेपालमा पनि सातजना संक्रमित भएका छन् । तत्कालको परीक्षण अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट एकजना र धुलिखेल अस्पतालमा ६ जनासहित ७ जनामा संक्रमण देखिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक चन्द्रबल झाले जनाउनु भयो । नेपालमै रहेको अवस्थामा कोरोनाले भेटेका उनीहरु डिस्चार्ज भएर घर गइसकेको पनि उहाँले बताउनु भयो ।
अहिलेको भेरियन्ट कडा नभए पनि दीर्घरोगी तथा बालबालिका र वृद्धवृद्धाहरु जोखिममा हुने भएकाले आवश्यक सतर्कता अपनाउन विज्ञहरूले आग्रह गरेका छन् ।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) र विभिन्न विज्ञहरूसँग छलफल गर्दा पहिलेको जस्तो डराउनुपर्ने स्थिति नरहेको बताइएपनि बढ्ने अवस्थाको ख्याल गर्दै नियन्त्रणका लागि आवश्यक तयारी थालिएको उहाँले उल्लेख गर्नुभयो ।
बिरामीहरूलाई निगरानीमै राख्दै सीमा नाका तथा हवाई नाकामा हेल्थडेस्क राखिएको उहाँले बताउनु भयो । सातवटै प्रदेशका स्वास्थ्य निर्देशनालयलाई तयारी अवस्थामा रहन भनिसकिएको छ । परीक्षण कीट खरिदको लागि मन्त्रालयसँग अनुरोध गरिएको छ ।
मास्क लगाउने, भिडभाडमा नजाने, साबुनपानीले हात धुने, लगायत आवश्यक सतर्कता अपनाउन जरुरी रहेको भन्दै सतर्कता अपनाउन सबैमा जानकारी गराइएको छ ।









